
काठमाडौं । भदौ ३० गते शनिबार गैरीगाउँ स्थित एक काष्ठ मिलमा चार जनाको हत्या भयो । हत्यारा थिए– २३ वर्षीय सञ्जय भण्डारी । उनले मोटरसाइकलले ठक्कर दिएको रिसीवीमा चार जनाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरे ।
यतिमात्र होइन्, प्रहरी हिरासतमा रहेका उनले विगतमा आफुले काठमाडौंमा कम्तीमा ६ जनाभन्दा बढीको हत्या गरेको बताएका छन् । जन्मजात बोल्न नसक्ने भण्डारीसँग प्रहरीले दोभाषेको सहायताले सोधपुछ गरिरहेको छ ।
सो क्रममा उनले काठमाडौंको विभिन्न स्थान नक्साल, रातोपुल, बौद्ध भक्तपुरमा पनि हत्या गरेको तर प्रहरीले आफूलाई पक्राउ गर्न नसकेको बताएका हुन् । उनले यसअघि एउटा हत्यामा प्रहरीले आफूसँग सोधपुछ गरेपनि ‘बोल्न नसक्ने र कान नसुन्ने भनेर’ छाडिदिएको बयान दिएका छन् ।
उनले आफुले हत्या गरेको कुराहरु आत्मविश्वासका साथ भन्ने गरेका छन् । उनले भन्ने गरेका केहि घटनामा आधारहरु पनि रहेको प्रहरी स्रोत बताउँछ । सञ्जयले दाबीका साथ आफुले हत्या गरेको तर, प्रहरीले आफुलाई पक्राउ गर्न नसकेको भनेपछि अनुसन्धान अधिकृतहरु हैरान बनेका छन् ।
सञ्जयले आफूले हत्या गरेको भनेका ठाउँमा प्रहरीले उनलाई लिएर त्यहाँ पुगेका छ । ‘केही ठाउँ पुग्दा हत्या भएको थियो भन्ने पनि देखिएको छ । यद्यपी उनले कसलाई मारे भन्नेबारे पहिचान हुन सकेको छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।
सञ्जयले आफुले काठमाडौंमा त्यति धेरै हत्या गर्दा पनि आफुलाई पक्राउ गर्न नसकको भन्दै चुनौती दिएपछि प्रहरीले पुरानो फाइल खोतल्न थालेको छ । काठमाडौं प्रहरीले यतिबेला काठमाडौंमा विगत २÷३ वर्षमा हराएको भनेर उजुरी परेका तर नभेटिएकाको विवरण हेरिरहेको छ ।














