Logo
Logo

जागरण अभियान- एकीकृत समाजवादीको शक्ति परीक्षण


1.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही असोज १४ गते सुरु गरेको समाजवादी जागरण अभियान सर्लाही पुगेको छ ।

चौथो दिन बुधबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरेर अघि बढेको जागरण साँझ सर्लाही पुगेको हो । अभियानको क्रममा मधेसमा जनलहर उर्लिएको छ । सभाहरूमा हजारौँ सहभागी भएका छन् ।

बुधबार जनकपुरमा जिल्लास्तरीय कार्यकर्ता भेला, महोत्तरीको पिपरा र मटिहानी, जलेश्वरमा सभा भएको छ ।

यस्तै, सर्लाहीको लालबन्दीमा पनि सभा सम्पन्न भएको छ । सभाहरूमा हजारौँ सहभागी भएका छन् । अभियानमा जनताको उत्साहजनक सहभागिताबाट नेताहरू उत्साहित भएका छन् । स्वतःस्फूर्त रुपमा मानिसहरू सभामा सहभागी भएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

उनले भने, ‘जागरण अभियानमा उत्साहजनक जनसहभागिता रह्यो । एकीकृत समाजवादीको वास्तविक शक्तिको परीक्षण भएको छ । अभियानमा रहेका हामी उत्साहित हुने गरी मधेशमा जनलहर आएको छ ।’

१२ सय किलोमिटर लामो मेची–महाकाली अभियानका क्रममा झण्डै सय वटा सानाठूला सभा हुनेछन् । अभियानमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

फरक फरक सभामा फरक फरक नेताहरूले सम्बोधन गरेको एकीकृत समाजवादीले जनाएको छ । अभियानको क्रममा समाजसेवी, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी र आमजनतासँग नेताहरूले साइडलाइन भेटघाट पनि गरिरहेका छन् । 

बुधबार पनि विभिन्न पार्टी परित्याग गरी ठूलो सङ्ख्यामा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीले कार्यक्रम राखेको थियो । 

रोजगारी, सुशासन र समृद्धिको नारासहित एकीकृत समाजवादी मेची–महाकाली समाजवादी जागरण अभियानमा छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालले बताएका छन् ।

 अध्यक्ष नेपाल र सम्मानित नेता खनालले २०३६ सालमा पञ्चायती व्यवस्थाविरूद्धको सङ्घर्षमा शहीद भएका इगल जर्गाको सालिकमा माल्यार्पण पनि गरेका छन् । 

शहीद जर्गाका  दाजुभाइ भिमबहादुर जर्गा र लेखराम जर्गालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको छ । २०१४ सालमा जन्मिएका जर्गाको २२ वर्षको उमेरमा तत्कालीन राज्यले हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्