Logo
Logo

सिक्किममा बाढीमा परी २३ सेनासहित ४३ जना बेपत्ता



गान्तोक । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ ।

सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब २० सर्वसाधारण र २३ सैनिक हराइरहेका दुःखद् खबरहरू आएका छन् । उनले भने, ‘हामीले सेनामा २३ जना हताहत भएको बारेमा पनि सुनिरहेका छौं, जसको पुष्टि उनीहरूसँग गर्न आवश्यक छ । करिब २० स्थानीय पनि बाढीपछि सम्पर्कमा आएका छैनन् ।’

जिल्लामा पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगिसकेका बताइएको छ । पाक्योङका डिस्ट्रिक्ट म्याजिस्ट्रेट चोपेलले भने, ‘राङ्पोको आईबीएम क्षेत्रमा १५० भन्दा बढी घरमा क्षति पुगेको छ भने केही मानिसको ज्यान गएको छ ।’

शैक्षिक संस्थाहरू माझीटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र सिङटाम र राङपोको बीचमा रहेको बारदाङको एडभान्स टेक्निकल ट्रेनिङ सेन्टरमा पनि अचानक बाढी पसेको र पहिलो तल्ला जलमग्न भएको पाक्योङ जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्