Logo
Logo

एमाले गण्डकी अधिवेशनमा मतदान सुरु


882
Shares

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । गण्डकी प्रदेशको पहिलो अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको हो ।

निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार मतदान विद्युतीय माध्यमबाट भइरहेको छ । गण्डकीपमा एमालेको ९०७ जना मतदाता रहेका छन् । सकेसम्म आजै मतपरिणाम सार्वजनिक गरिनेछ ।

सोमबारदेखि पोखरामा जारी अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ । तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदमा पनि सहमति गर्ने प्रयास भएपनि सम्भव नभएपछि आज मतदान सुरु गरेको हो ।

गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेलको समेत साथ छ ।

अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, महिला उपसचिवमा कास्कीकै मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्