काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्पपीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित सांसद जोशीले १६ भदौमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको र पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू त्यसतर्फ जान लागेकामा धन्यवाद दिँदै भ्रमण गर्नेभन्दा विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने माग गरे । उनले भने, ‘यसअघि ०७८ सालमा गएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो । एकै घरका ७ जनाले ज्यान गुमाए भने धनजनको क्षति भयो । त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीले भ्रमण गरेर आश्वासन दिए पनि तीन वर्षसम्म पीडित राहत पाउन सकेका छैनन । तर, नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् । तर जनताले केही पाउँदैनन् ।’
उनले यस्तो पीडाको अवस्थामा सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर विशेष कार्यक्रम घोषणा गर्न माग गरे । उनले भने, ‘सरकारी कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनसँग निजी घर बस्न लायक छैनन् । सामान्य राहतले मात्रै नपुग्ने हुँदा विशेष पूनर्निमाणको योजना लिएर बझाङ र त्यस वरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउन अनुरोध गर्न चाहन्छु ।’
उनका अनुसार १६ भदौको भूकम्पका कारण बझाङसँगै बाजुरा, अछाम, डोटी र बैतडीमा पनि क्षति भएको छ । बझाङमा सुख्खा पहिरोमा परी गुनदेवी जोशीको ज्यान गएको र दुई जना घाइतेको काठमाडौँमा उपचार भइरहेको पनि उनले बताए ।














