
काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै विजयी भएका हुन् । शर्माले ५३१ मत पाए भने अधिकारीले ३६५ मत प्राप्त गरे ।
निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए ।
तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको छ ।उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् ।
सचिवका उम्मेदवार लमजुङका धनञ्जय दवाडी विजयी भएका छन । उपसचिव पदमा पनि शर्मा प्यानलका कास्कीका दामबहादुर विक, उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी पर्वतकी मन्जु अधिकारी विजयी भएका छन् । अधिवेशनमा विभिन्न क्लस्टरबाट २७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।














