Logo
Logo

कोशीमा अबको मुख्यमन्त्री उद्धव थापा कि इन्द्र आङ्बो ?


2.6k
Shares

काठमाडौं । हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै कोशी प्रदेशमा नयाँ सरकार बन्ने भएको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्न बाँकी नै रहे पनि सरकार गठनको कसरत सुरु भएको छ ।

कार्की संविधानको धारा १६८ (३) मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाए र राजीनामा दिए स्वतः धारा १६८ (५) बमोजिम सरकार गठन हुने थियो । त्यसैले अब धारा १६८ (५) अनुसार सरकार गठन हुने भएको छ ।

धारा १६८ (५) को व्यवस्था अनुसार सबैभन्दा धेरै प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी गर्नेलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

कार्की नेतृत्वको सरकार ढलेसँगै अब गठबन्धन पुनः आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारीमा लागेको छ । तर, गठबन्धनमा मुख्यमन्त्रीका दाबेदार दुई जना छन् । दुई पटकसम्म असंवैधानिक रूपमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा र पालो कुरेर बसेका माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

कार्की नेतृत्वको सरकार ढलेसँगै प्रतिक्रिया दिँदै दुवै नेताले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । तर, दुवै नेताले गठबन्धन दलको निर्णयमा गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार टुंगो लाग्ने बताएका छन् ।

शनिवार प्रदेशसभाको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस दलका नेता कार्कीले भने– ‘१६८ (५) बन्ने सरकारमा मुख्यमन्त्रीको रूपमा मेरो दाबी रहने छ । तर, म मुख्यमन्त्रीको उम्मेदवार बन्ने या नबन्ने भन्ने विषय गठबन्धनका शीर्ष नेताको निर्णयमा निर्भर हुने छ ।’ 

थापाले आफू दुई पटक मुख्यमन्त्री भए पनि काम गर्ने अवसर नपाएका कारण पुनः मुख्यमन्त्री बन्नुपर्ने पक्षमा रहेका छन् । तर, माओवादी दलका नेता आङ्बोले भने अब माओवादीको पालो रहेको बताएका छन् ।

प्रदेशसभाको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सन्दर्भमा माओवादीले धेरै त्याग गरेकाले अब भने माओवादीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताएका छन् । 

कांग्रेसको नेतृत्वमा दुई–दुई पटक सरकार गठन गरिएको तर विश्वासको मत पाउन नसकेको भन्दै नेता आङ्बोले अब पनि विश्वासको मत नै नपाउने गरी कांग्रेसले सरकारको नेतृत्व दाबी गर्न नहुने बताए । 

नेता आङ्बोले माओवादीको नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा सम्भावित मध्यावधि निर्वाचनको खतरा रोकिने समेत दाबी गरेका छन् । उनले भने– ‘हामी राप्रपासँग नजिक र निरन्तर संवादमा छौँ । मध्यावधि रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा सकारात्मक छ । त्यसैले माओवादीको नेतृत्वमा सरकार गठन गर्नु नै अबको निकास हो ।’

कोशीको ९३ सदस्यीय प्रदेश सभामा हाल गठबन्धनसँग बहुमत अर्थात् ४७ मत छ । तर, प्रदेशसभा सञ्चालन गर्नुपर्ने अवस्थामा गठबन्धनकै ज्येष्ठ सदस्य सभाध्यक्ष हुनुपर्ने परिस्थिति आइलाग्दा गठबन्धनको पक्षमा बहुमत पुग्दैन । त्यसैले सरकार गठन र सञ्चालन प्रक्रियामा राप्रपाको साथ अनिवार्य बनेको छ ।

विभिन्न कारण राप्रपाले थापा नेतृत्वको सरकार स्वीकार गर्ने अवस्था छैन । तर, थापा बाहेकको नेतृत्वमा गठबन्धनले सरकार गठन गरेको सन्दर्भमा राप्रपा पनि सहभागी हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्