Logo
Logo

नियुक्त हुन २ दिन बाँकी छँदै मुख्यमन्त्री पदबाट राजीनामा !


4.7k
Shares

काठमाडौं । हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्री पदबाट शनिवार राजीनामा दिएका छन् । विश्वासको मत लिन बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै विश्वासको मत नै नलिई कार्कीले राजीनामा दिएका हुन् ।

प्रदेशसभालाई सम्बोधन गर्दै कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिएको र राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाउने घोषणा गरेका थिए । सोही अनुसार प्रदेशसभालाई सम्बोधन गरेपछि कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई राजीनामा बुझाएका छन् ।

कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले आगामी शुक्रवार सम्मको समय तोकेर संविधानको धारा १६८ (५) को व्यवस्था अनुसार सरकार गठनको आह्वान पनि गरिसकेका छन् । तर, कार्कीले बुझाएको राजीनामा पत्रअनुसार कार्की भने धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुन अझै दुई दिन बाँकी छ ।

राजीनामा पत्रमा कार्कीले लेखेका छन्– ‘माननीय प्रदेश प्रमुखज्यूबाट २०८०।०६।२२ गते नेपालको संविधानको धारा १६८ (३) बमोजिम म कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको हुँ ।’

कार्की २०८०।०५।२२ गते धारा १६८ (३) को व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । तर, राजीनामा बुझाउने सन्दर्भमा कार्कीको राजीनामा पत्रमा भने २०८०।०६।२२ गते मुख्यमन्त्री नियुक्त भएको उल्लेख छ । यस आधारमा हेर्दा कार्की मुख्यमन्त्री नियुक्त हुन अझै २ दिन बाँकी छ ।

यस विषयमा कार्कीको सचिवालयले कुनै प्रतिक्रिया जनाएको छैन । तर, राजीनामा पत्र टाइप गर्ने क्रममा २०८०।०५।२२ हुनुपर्नेमा २०८०।०६।२२ टाइप भएको हुनसक्ने अनुमान गरिएको छ ।

कार्कीले पछि सच्याए

प्रदेश प्रमुख स्रोतका अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएको मिति नै गल्ती भएपछि प्रदेश प्रमुखको सचिवालयले कार्कीको सचिवालयलाई जानकारी गराएको थियो । तर, त्यस अगाडि नै कार्कीको सचिवालयले नियुक्ति मिति नै गल्ती भएको पत्र सामाजिक सञ्जालमा पोस्ट गरिसकेको थियो । सोही पत्र अहिले भाइरल भएको हो ।

प्रदेश प्रमुखको सचिवालयले नियुक्ति मिति गल्ती रहेको जानकारी गराएपछि कार्कीले राजीनामा बुझाउने क्रममा प्रिन्ट भएको पत्रमा ६ को ठाउँमा ५ उल्लेख गरेर हस्ताक्षर गरी प्रदेश प्रमुखलाई बुझाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्