काठमाडौं । इजरायलको प्यालेस्टिनी भूमिमा शनिबार बिहानबाट भएको आक्रमणमा नेपाली नागरिकको अवस्थाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चासो व्यक्त गरेका छन् ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गोडरसँग संवाद गरेर उपप्रधानमन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले आइतबार बिहान इजरायलस्थित नेपाली राजदूत र नेपालस्थित इजरायली राजदूतसँग इजरायलमा जारी द्वन्द्वमा परेका नेपालीबारे चासो व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
इजरायलमा रहेका नेपालीको अवस्था र उद्धारबारे गृहमन्त्रीले जानकारी लिएका हुन् । गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै गृहमन्त्रीले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिनुका हुन् ।
नेपाली राजदूत रिजालले घाइते एवम् युद्ध क्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको जानकारी दिएका थिए । त्यस्तै, इजरायली राजदूत गोडरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने प्रतिबद्धता जनाएका थिए ।














