धनगढी । नेकपा एमालेको असोज २१ गतेदेखि धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनमा नेतृत्वका लागि तीन धार देखिएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गराउने जिम्मा महासचिव शङ्कर पोखरेललाई दिएका छन् ।
सर्वसम्मत नेतृत्व चयनका लागि महासचिव पोखरेलले आज बिहानदेखि केन्द्रमा नेतृत्व गर्ने प्रदेशका नेताहरूसँग छलफल गरिरहेका छन् ।

सर्वसम्मत अध्यक्षका लागि अछामका कमल तिमिल्सेनाको नाम चर्चामा छ । तिमिल्सेना अहिले प्रदेश कमिटी उपाध्यक्ष हुन् । अध्यक्ष ओली र महासचिव पोखरेलको ग्रिन सिग्नल तिमिल्सेनालाई देखिन्छ ।
नेता लेखराज भट्ट, दामोदर भण्डारी, लीला भण्डारी, लालबहादुर थापा, गणेश ठगुन्ना, राजेन्द्र सिंह रावल, झपट रावलको साथ तिमिल्सेनालाई रहेको छ । आफू निकटका मान्छेको व्यवस्थापन गर्ने सर्तमा उल्लेखित नेताहरूले तिमिल्सेनालाई अघि सारेको स्रोतको दाबी छ ।
हालका प्रदेश अध्यक्ष दामोदर भण्डारीले रणबहादुर चन्दलाई सचिवमा, लेखराज भट्टले भागीरथी विष्ट र लालबहादुर थापाले कालीबहादुर शाहीलाई उपसचिवमा तिमिल्सेनाको टिमबाट अघि सारेका छन् ।
उपाध्यक्षका लागि पात्रको टुङ्गो लगाउन बाँकी छ ।
यसैगरी तिमिल्सेना निकट नेताहरूले १५५ सदस्सीय प्रदेश कमिटीमा सदस्यहरूको भागबन्डा पनि लगाइसेकेको बताइन्छ ।
३३ प्रतिशत महिला अनिवार्यसहित १६ निर्वाचन क्षेत्रबाट ८० जना र बाँकी कलस्टरबाट प्रतिनिधित्व हुनेगरी भागबन्डा गरिएको चर्चा छ ।
यसैगरी प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसीको पनि दाबेदारी छ । स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र पोलिटब्युरो सदस्य नारदमुनि राना र नारुदेवी पालको साथ जैसीलाई रहेको बताइन्छ ।
जैसीको टिममा अरबपति व्यवसायी सूर्य थापा उपाध्यक्ष र राजेश खाती वा जीवन वममध्ये एकजान सचिवमा उम्मेदवारी दिने चर्चा छ ।
नारदमुनि रानाले कन्दकला राना र निरु पालले पल्लवराज भट्टलाई उपसचिवमा समेटेर टिम बनाउनुपर्ने गरी छलफल गरिरहेको बताइन्छ ।
यसैगरी युवा सङ्घका पूर्वअध्यक्ष बच्चनबहादुर सिंह पनि अध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन्। कमल तिमिल्सेना टिममा उपाध्यक्षको प्रस्ताव गरिए पनि सिंहले आफू सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमा वैकल्पिक नेतृत्वको आवश्यकता पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
सिंहले पनि पाँच पदाधिकारीसहित १ सय ५५ सदस्यीय प्रदेश कमिटीमा नै उम्मेदवारी दिने सङ्केत गरेका छन् । यद्दपी उनलाई हालसम्म कुनै खपनि केन्द्रीय नेताको साथ रहेकोबारे खुलेको छैन ।
सिंह युवा र विद्यार्थीको रोजाइमा छन् । पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तकलाई गाह्रो पर्दा साथ सहयोग दिन तम्तयार रहने युवा नेताका रूपमा सिंहलाई लिइन्छ ।
सिंहको टिममा उपाध्यक्षमा डोटीका चक्र मल्ल र सचिवमा यज्ञराज ढुङ्गानाको नाम चर्चामा छ । प्रदेश अधिवेशनमा ९ जिल्लाका ८८ पालिकाका झन्डै ९० हजार सङ्गठित सदस्यबाट चुनिएर आएका ६ सय ७५ प्रतिनिधिले भाग लिएका छन् ।














