Logo
Logo

तीन उपसचिवको घेरामा उद्योग विभागका डीजी


5.9k
Shares

काठमाडौं । बाणिज्य विभागमा निर्देशक हुँदा बजार अनुगमनका ब्यापारीलाई दुःख दिएको आरोप झेलेका उपसचिव हरि पँगेनी उद्योग विभागमा सरुवा भएको २ बर्ष पुग्न लागेको छ । बाणिज्यमा अनुगमन शाखा आकर्षक मानिन्छ । उनी त्यही शाखाको निर्देशक थिए । उद्योग मन्त्रालयको बाणिज्य सचिवमा मधुकुमार मरासिनीको आगमनसँगै पँगेनी उद्योग विभागमा प्रवेश गरेका हुन् । पँगेनी र मरासिनीबीच भूगोलको नातासँगै साइनो समेत जोडिएकाले उनी उद्योगमा जान सफल भएका हुन् ।

विभागमा जाने नयाँ उपसचिवलाई घरेलु शाखाको प्रमुखमा राखेर विस्तारै पछि अरु महत्वपूर्ण शाखाको निर्देशक दिने प्रचलन रहिआएको छ । तर पँगेनी यस्ता भाग्यमानी हुन्, उनले घरेलु शाखा टेक्नै परेन, सिधै सरुवा हुनासाथ औद्योगिक सम्पत्ति शाखाको निर्देशक हुन सफल भए । सो शाखामा रहँदा ट्रेडमार्कका मुद्दाहरुमा कानुन शाखाका उपसचिव दीपक घिमिरेसँग सेटिङ गरेर कुस्त कमाउन सफल भएका थिए ।

विभागका तत्कालीन महानिर्देशक रामचन्द्र तिवारी शैलीमा काम गर्ने स्वभावका कारण पँगेनी ट्रेडमार्क शाखाबाट विभागको अर्को आकर्षक अनुमति शाखामा सरुवा हुन सफल भए । घनश्याम उपाध्यायलाई अवधि नपुग्दै सरुवा गरेर पँगेनीलाई तिवारीले लगेर हरेक फाइललाई सशुल्क लिएरमात्रै उठाउने परम्परालाई संस्थागत गरेका थिए ।

अनुमति शाखामा हरेक फाइल सेटिङ मिलाएर मात्रै अगाडि बढाउने प्रचलनको सुरुवात पँगेनीले गरेका थिए । तिवारीको बहिर्गमनपछि महानिर्देशक भएर आएका बाबुराम गौतम र पँगेनीको भेगीय नाताकै कारण सुमधुर सम्बन्ध रहेको छ । अनुमति शाखा औद्योगिक प्रबद्र्धन बोर्डमा प्रस्ताव तयार गर्ने शाखा पनि भएकाले यसलाई महत्वपूर्ण मानिन्छ । बोर्डको गएको भदौ ८ गते सम्पन्न बैठकका एजेन्डा सेटिङका आधारमा तयार गर्नका लागि पँगेनीले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनै पँगेनीले अहिले महानिर्देशक गौतमसँग मिलेर बोर्डको आगामी बैठकका लागि एजेन्डा तयार गर्न सुरु गरिसकेका छन् ।

गौतमले हरि पँगेनी, मनोज रेग्मी र कानुनका दीपक घिमिरेबाहेकलाई निर्देशक जस्तै मान्दैनन् । उनीहरुलाई बिभागभित्र डीजी गौतमको किचेन क्याविनेटका सदस्यका रुपमा चिनिन्छ । कार्यालय पुग्नासाथ मूलगेटभित्र रहेको डिजिटल हाजिरीमा आंैठाछाप लगाएपछि पहिलो तल्लामा रहेको डीजी गौतमको कार्यकक्षमा उक्लेर तीनैजना चियागफमा सामेल हुने गरेका छन् । ११ बजेपछि मात्रै कार्यकक्षमा पुग्ने गरेका निर्देशकत्रय अधिकांश समय महानिर्देशककोमै हुने गरेका छन् । रेग्मी त शाखामा मुस्किलले २ घन्टा पनि भेटिंदैनन् । हरेक समय महानिर्देशकसँगै खुसामद गर्न ब्यस्त रेग्मी पँगेनीलाई अन्यत्र ब्यवस्थापन गरेर अनुमति शाखामा जाने दाउमा छन् ।

उद्योगमन्त्रीको मदिरा मोह
औद्योगिक प्रबद्र्धन समितिको गएको भदौ ८ गते बसेको बैठकले घुमाउरो ढंगबाट मदिरा उद्योगलाई अनमुति दिएको छ । चिनी मिलबाट निस्कने मोलासिसबाट बन्ने स्पिरिटबाट मदिरा उत्पादन गर्ने अनुमति दिएको छ । लामो समयदेखि मदिरा उद्योगको लाइसेन्स रोकिएको थियो । उद्योग मन्त्री रिजालका निजी सचिव मातृका आचार्यले उद्योग विभागका महानिर्देशक गौतममार्फत् ठूलै आर्थिक चलखेल गरेको आरोप छ ।

विगतमा प्रतिनिधिसभाको उद्योग समिति, अर्थ समिति र मन्त्रिपरिषदले समेत स्थगित मदिराको लाइसेन्स नखुलाउन निर्देशन दिएका थिए । त्यहीकारण पूर्वउद्योगमन्त्रीहरु महेश बस्नेत, सोमप्रसाद पाण्डे, नवीन्द्रराज जोशी, मात्रिकाप्रसाद यादव, लेखराज भट्ट र दिलेन्द्रप्रसाद बडुले समेत स्थगित मदिराको लाइसेन्स दिन सकेका थिएनन् । हालका मन्त्री रिजालको अध्यक्षतामा बसेको बोर्ड बैठकले घुमाउरो बाटोबाट मदिराको लाइसेन्स दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्