
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा फेरि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज (मंगलबार) बिहान बसेको पदाधिकारी बैठकमा कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्नेबारे छलफल भएको बताइएको छ ।
छलफलमा सभापति देउवाले पुनस् कांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका हुन्। अहिलेको गठबन्धनलाई कायम राख्दै थप दलहरूको समर्थन खोज्न पहल गर्नुपर्ने सभापति देउवाको भनाइ छ ।
कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउने प्रयासमा कांग्रेस लागेको छ । यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर कुरा गर्ने तयारी छ। सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने तयारी गरेका छन्।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक र एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन्। बहुमत पुर्याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ।














