Logo
Logo

शहरमा जसको चर्चा छ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । कानूनीरुपमा अग्निप्रसाद सापकोटा फरार अभियुक्त हुन् । उनीविरुद्ध काभ्रे प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । अर्जुन तामाङको हत्या मुद्दामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । बाबुराम भट्टराई नेतृत्वको सरकारले मुद्दा नचलाउने निर्णय गरे पनि त्यसलाई सर्वाेच्च अदालतले खारेज गरिसकेकाले उनीविरुद्धको मुद्दा कायमै छ । उनै सापकोटाले सोमबार सभामुखको शपथ लिए । छोराको हत्यामा संलग्न रहेको व्यक्तिलाई सभामुख बनाएको भन्दै विरोधमा उत्रिएकी अर्जुनकी आमालाई प्रहरीले पक्राउ ग¥यो ।

सोमबार नै प्रहरीको आलोचना गरेको आरोपमा एक गायिका प्रहरी हिरासतमा बस्नुपरेको छ । गायिका आस्था राउतलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । गत १ माघमा विमानस्थलमा चेकिङको क्रममा भएको विवादलाई लिएर प्रहरीले अभद्र मुद्दामा हिरासतमा लिएको हो । जबकि चेकिङको विवादपछि प्रहरीले घटनामा कुनै मतलब लिएन । पछि फेसबुकमा गाली गरेपछि प्रहरीविरुद्ध प्रतिशोध लिन अग्रसर भएको थियो । महिला सिपाहीलाई उनीविरुद्ध उजुरी हाल्न लगाएर प्रहरीले उनलाई हिरासतमा लिएको हो । जबकि आस्थाले आफूले बोलेका शब्दप्रति माफी मागिसकेकी छिन् । यो घटनाबाट सिंगो संगीत क्षेत्र प्रहरीसँग रुष्ट भएका छन् । नागरिक समाजबाट समेत यसको आलोचना भएको छ ।

कानूनको अगाडि सबै बराबर हुन्छन् भन्ने सन्देश दिन आस्थालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, पोखराको घटनाले पैसा र पावर हुनेहरुलाई कानून फरक हुन्छ भन्ने प्रष्ट देखाएको छ ।

एन्फा कास्कीका अध्यक्ष राजु गुरुङलाई पक्राउ गरेको आरोपमा प्रहरीले डनका नामले कहलिएका दीपक मनाङेलाई शुक्रबार पक्राउ गरेको थियो । तर, तेस्रो दिन नै उनी छुटेका छन् । प्रहरीसँगको सेटिङमा उनी तेस्रो दिन नै छुटेका हुन् । जबकि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका सर्वसाधरणहरु २० दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ । छुट्नका लागि आफूले मोटो रकम खर्च गरेको मनाङेले बताएका छन् । अझ आफूविरुद्धको उजुरीको प्रतिशोधमा मनाङेले राजुविरुद्ध नै अर्काे उजुरी हाल्न लगाएर थुनाएका छन् । यसले प्रहरी सर्वसाधरणको नभई डन र पैसावालकै मात्र साथी भएको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्