
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बिहान पर्यटनमन्त्री सुदन किराती र नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुख इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै नेपाल एयरलाइन्सको विमान राति ११ बजे इजरायल पठाउने तयारी गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर नेपाल एयरको जहाज इजरायल जाने भएको हो ।
सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ । सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ। नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ।
शनिबार प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए । यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली वेपत्ता छन्।
इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए। जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अभिभमा राखेको छ। थप युद्ध चर्कने खतरा बढेपछि सरकारले अध्ययन र कामका शिलशिलामा इजरायलमा पुगेका नेपालीलाई नेपाल फर्काउन जहाज पठाउन लागेको हो।














