Logo
Logo

जोखिम निम्त्याउँदै अवैज्ञानिक सडकहरु : राई


- दृष्टि न्युज/संवाददाता


धनगढी, १४ माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीमज्वालाराईले अवैज्ञानिक सडकका कारण यात्रु र सवारी चालकले निकै ठूलो जोखिम मोल्नु परिरहेको बताउनु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बस ईकाई कमटी धनगढीको तेस्रो अधिवेशनको सोमबार धनगढी बसपार्कमा अधिवेशनको उद्वघाटन मन्तव्य व्यक्त गर्नेक्रममा सो कुरा बताउनु भएको हो ।

राज्यको उदाशिनता र बिद्यमान सडकको दुरावस्थाका कारण यात्रुहरु र यातायातकर्मीहरु दुवैले ठूलो जोखिम उठाईरहनु परेको कुरा प्रमूख अतिथी राईले बताउनु भएको छ । दिनप्रतिदिन बढ्दो सवारी चापको तुलनामा सडकको अवस्थामा सुधार आउन नसकेका कारण सवारी दुर्घटनामा वृद्धि हुनगईरहेको समेत अध्यक्ष राईले बताउनु भएको छ । सडक दुर्घटनाको कारण नखोजि सोझै यातायात मजदुरहरुमाथी राज्यले अव्यवहारिक कानुन लाद्ने गरेका कारण पनि यातायातकर्मीहरुले राज्यबाट न्याय पाउन नसकेको पनि अध्यक्षराईले मन्तव्यका क्रममा बताउनु भएको छ । नेपालमा १० बर्षे जनयुद्धमा १७ हजार मानिसले ज्यान गुमाएका थिए,तर त्यसको तुलनामा सडक दुर्घटनामा १० बर्षको अवधीमा निर्दोष २८ हजार मानिसहरुले ज्यान गुमाउने गरेको तथ्यांक समेत सो अवसरमा अध्यक्षराईले प्रस्तुत गर्नु भएको छ ।

यातायात मजदुरहरुका समस्यालाई सरकारले नजिकबाट नहेरिदिंदा अधिकाँश यातायात मजदुरहरु प्रताडित जीवन जीउन बाध्य भैरहेको समेत अध्यक्ष राईले बताउनु भयो । राज्यले यातायात व्यवसायीहरुको सम्मान गर्नुको सटट नेपालका १० लाख ५० हजारको संख्यामा रहेका सबै मजदुरहरुले दोस्रो दर्जाको नागरिकव्यवहार राज्यबाट खेप्नु परिरहेको पनि अध्यक्ष राईले बताउनु भयो । उहाँले भन्नु भयो – नेपाल सरकारले ल्याउने मजदुर सम्बन्धी नीति र ऐन कानु्नहरु मजदुर मैत्री नहुदा पनि नेपालका मजदुरहरुले न्याय पाउन नसकेको धारणा अध्यक्ष राईको रहेको छ । सडकले खोजेको मर्यादित यातायात हुनका लागि यातायात क्षेत्रका समस्या समाधानका लागि सबैक्षेत्र जिम्मेवारीपूर्वक लाग्नु पर्ने पनि अध्यक्ष राईको धारणा रहेको छ । सुरक्षित र समृद्धीको परिकल्पना यदि साकार पार्नुनै छभने सबै भन्दा पहिला सरकारले नीजि क्षेत्र,सरोकारवाला निकाय अनि यातायात व्यवसायीहरुका बिचमा साझा धारणा बनाएर जान सकेको खण्डमा नेपालका मजदुरहरु यात्रुमुखी हुन बेर नलाग्नेपनि अध्यक्ष राईले बताउनु भएको छ ।

सरकारले मजदुर विरोधी ऐन कानुन ल्याउला भन्नेमा संगठन विश्वस्त हुँदा हुँदै कथंकदाचित सरकारबाट त्यस्तो हुन गएको खण्डमा मजदुरहरु एक जुट भएर त्यसका विरुद्वमा संघषर्न गर्ने समेतअध्यक्ष राईले बताउनु भएको छ । मजदुरहरुका बिद्यमान समस्याको पहिचान गरि सरकारलाई अवगत गराई सकिएकाले अव बन्ने कानुनहरु मजदुरमुखी हुनु पर्नेमा नेपाल यातायात मजदुर संगठनले पहरेदारी गरेर अघि बढ्ने समेत धारणा व्यक्त गर्नु भएको छ । सो अवसरमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिव नवराज घिमिरेले सडक दुर्घटनामा मजदुरलाई मात्र दोष थोपर्ने नेपालको कानुनलाई परिमार्जन गरि यात्रु र यातायातकर्मी मैत्री बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

नेपालमा हुने हरेक दुर्घटनामा चालकलाई मात्र दोष थोपर्ने र त्यसको भागेदार चालकनै हुनु पर्ने अनि गल्ती गर्नेलाई ऐन कानुनलाई नछुने परिपाटीको अन्त्यका लागि संगठनले देश व्यापीरुपमा सचेतनताका कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत महासचिव घिमिरेले बताउनु भएको छ ।उहाँले भन्नु भयो संगठनले देशभरका ४८ हजार मजदुरहरुलाई जिम्मेवार यातायातकर्मी बनाउनका लागि हाल सम्म ३० हजार जतिलाई आधारभूत ज्ञानहरु प्रदान गरिसकिएको र सचेतनता अभियानलाई देश व्यापी बनाउने कार्य अन्तिम चरणमा पुगिसेको छ । म जिम्मेवार यातायात मजदुरहुँ भन्ने कुराको बोध गराउन संगठनले चालेको कदमले मात्र नपुग्ने भएकाले सबै यातायात व्यवसायी,मजदुर, प्रहरी प्रशासन र राज्य संयन्त्रका सबै तह र तप्काको यसमा भरपुर सहयोग र समर्थन रहेको खण्डमा यातायात मजदुरहरुले खोजेको सेवा प्रदान गर्न सक्ने बताउनु भएको छ ।

सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) सुदूरपश्चिम प्रदेशका अध्यक्ष देव बहादुर बम, सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सचिव जीत बहादुर मल्ल,दूरपश्चिम भलाई कोषका अध्यक्ष केशव पन्त, खप्तड मालिका यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशी लगायतका व्यक्तिहरुले सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा सुदूरपश्चिम क्षेत्रीय अध्यक्ष ललित चन्द लगायतकाको समेत उपस्थिती रहेको थियो ।

पुष्कर थापाको अध्यक्षतामा सम्पन्न उद्वघाटन समारोहको स्वागत मन्त्व्य शंकर ओलीले र सञ्चालन रामसिङ महराले गर्नु भएको थियो ।सोही दिन सम्पन्न बन्द शत्रले शंकर ओलीको अध्यक्षतामा सचिवमा रामसिङ ओली र कोषाध्यक्ष बिष्णु कुँवर रहेको नौसदस्यीय बस ईकाई कमिटीको गठन गरेको छ । – वीरेन्द्र रावल

प्रतिक्रिया दिनुहोस्