
काठमाडौं । सरकारले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको बताएको छ ।
इजरायलबाट नेपाली नागरिकसँगै गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका जोशीको खोजी भइरहेको बतएका हुन् ।
मन्त्री साउन नेपाली नागरिकलाई लिन इजरायल गएको चार्टर विमानमै त्यता गएका थिए । इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपाल फर्किन ५५७ जनाले अनलाइन मार्फत विवरण उपलव्ध गराएका छन् । त्यसमध्ये सरकारले २५४ जनालाई पहिलो चरणमा सुरक्षित रुपमा नेपाल ल्याएको हो ।
उनले भने, ‘हामीले २५४ जनालाई सुरक्षित रुपमा नेपाल ल्याएका छौँ । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । आक्रमणबाट घाइते भएका चारमध्ये एक जना आज हामीसँगै फर्किएका छन् । बाँकी तीन जनाको इजरायलमै उपचार चलिरहेको छ । आक्रमणपछि बेपत्ता भएका विद्यार्थी विपिन जोशीको खोजी निरन्तर भइरहेको छ।’
उनले हमासको आक्रमणबाट मारिएका १० जना नेपालीको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको समेत बताए । ‘इजरायलबाट शव ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्ने देखिएको छ,’ उनले भने, ‘त्यतिन्जेल धेर्य गर्न म अनुरोध गर्दछु।’














