Logo
Logo

थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, १५ माघ । बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन सुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मंगलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन गरेको छ ।
उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिए ।
अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएकाले सुधार गरेर मात्रै सम्बन्धित निकायको रोहबरमा कारोबार सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनका क्रममा इण्डष्ट्रिजका सञ्चालक कृष्णबहादुर थापाले उद्योगमा भएका कमजोरी तत्काल सच्याएर गुणस्तरीय खाद्यान्न बिक्री गर्ने प्रतिबद्धता जनाए ।
बजारमा प्लास्टिकको चामल भित्रिएको गुनासो आएपछि प्रशासनले खाद्य उद्योग र पसलहरुलाई लक्षित गरेर बजार अनुगमन थालेको हो । अनुगमनमा जिप्रका रुपन्देहीका अधिकृत पोखरेल, वाणिज्य कार्यालयका नारायण पन्थी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका पद्मराज भुसाल, बुटवल उपमहानगरपालिका कार्यालयका टोपलाल शर्मा, नेपाल प्रहरीका प्रकाश चौहान तथा पत्रकारहरुको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्