
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेपाली कांग्रेसको केदार कार्कीले मुख्यमन्त्रीमा दावी पेश गरेपछि आज प्रदेश प्रमुख पर्शराम खापुङले सांसदहरुलाई सनाखतका लागि बोलाएका हुन् ।
दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख खापुङले सनाखतका शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि सांसदहरुलाई शनिबारको समय दिएका छन् ।
सांसदहरुको सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ती गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।
आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको छ । सो समुहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ ।
सो आन्तरिक बिबादका कारण उत्पन्न परिस्थीतिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन । जसअनुसार कोशीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।














