
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोसी प्रदेशमा एमालेका सांसदसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि महागठबन्धन भएको भन्दै व्यङ्ग्य गरेका छन् ।
सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले केन्द्रमा पनि कोसी प्रदेशमा नयाँ सरकार गठनमा आज भएको सहमति जस्तै केन्द्रमा पनि पुराना सबै दलहरूबीच सहकार्यको आवश्यक रहेको भन्दै व्यंग्य गरेका हुन् । उनले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै केन्द्रमा पनि यस खालको महागठकन्धन गर्न दलहरुलाई व्यंग्यबद आग्रह गरेका छन् ।
‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोसीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्,’ उनले लेखेका छन्, ‘आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिह्न समेत एउटै हुनेगरी महासहमति पनि गर्नुहोला । ढिला नगरी महागठबन्धनबादी मोर्चाको घोषणासभा बारेपनि सुन्न पाइयोस् ।’
उनले पुराना दलहरूमा केही भिन्नता नरहेको पनि बताएका छन् । ‘उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटर किन बेग्लाबेग्लै ?’ रविले प्रश्न गरेका छन् ।














