विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन् ।
आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन् ।

‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ । प्रदेश सभा विघटन नहुने भएको छ,’ उनले भने,‘अब सहमतिको सरकार बन्छ ।’ मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक(एक जना मन्त्री नियुक्त गरेका छन् ।
आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सांसद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा देखिएको संकट पनि हल भएको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।














