
काठमाडौं । भक्तपुर बार एसोसिएसनले गरेको एक कार्यक्रममा निमन्त्रण गरिएका प्रमुख अतिथिका कारण लफडा भएको छ । यसै विषयले बारका सदस्यहरूमा फाटो आएको छ ।
गत शुक्रवार सम्पन्न भक्तपुर बारको उक्त कार्यक्रममा आफ्नै अदालतका प्रमुख न्यायाधीश र केन्द्रीय बारका अध्यक्षलाई ‘वाइकट’ गर्दै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई प्रमुख अतिथि बनाइएको थियो ।
यो विषय यति बेला अदालत, बार र सामाजिक सञ्जालमा गर्माएको छ । कुँवर तिनै व्यक्ति हुन्, जसले चोलेन्द्र शमशेर राणाविरुद्ध बारले गरेको विरोध र धर्ना कार्यक्रममा प्रहरी बाेलाएर हस्तक्षेप गर्दै लाठी हान्न लगाएका थिए । २०७८ साल कात्तिक २५ गते धर्नामा बसेका आधा दर्जन कानुन व्यवसायी प्रहरीको लाठीबाट घाइते समेत भएका थिए ।
भक्तपुर बारले दसैँ, दीपावली, नेपाल संवत् ११४४ र छठको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भक्तपुर अदालतकै प्रमुख न्यायाधीशलाई समेत नपुछेपछि विवाद उत्पन्न भएको हो ।
उक्त कार्यक्रममा मुख्य रजिस्ट्रार कुँवरलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो । नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीहरूले न्यायिक सुधारको माग राखी गरेको आन्दोलनमा प्रहरी बोलाएर हस्तक्षेप गरेपछि नेपाल बारले कुँवरलाई अघोषित बहिस्कार गर्दै आएको छ । त्यति बेला सर्वोच्च परिसरमै वकिलहरू प्रहरी लाठीका कारण रक्ताम्मे भएका थिए ।
दुई वर्षअघिको त्यो घटनामा नेपाल बारका तत्कालीन महासचिव लीलामणि पौडेल, तत्कालीन उपाध्यक्ष डा.कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन कर्ण र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएका थिए ।
चोलेन्द्रको निर्देशनमा कुँवरले सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारी लगायतका अधिवक्ताहरूलाई प्रहरीले बल प्रयोग गरी जबरजस्ती सर्वोच्च प्राङ्गणबाटै बाहिर निकाल्न लगाएका थिए । त्यही भएर कात्तिक २५ लाई कानुन व्यवसायीले कालो दिनका रूपमा चिन्ने गर्दछन् ।
यति मात्र नभएर केन्द्रीय बार र कानुन व्यवसायीले कुँवरमाथि कारबाहीको समेत माग गरेका थिए । कुँवरमाथि बारको आन्दोलन दबाउन र हस्तक्षेप गर्न चोलेन्द्रको मतियार बनेको आरोप समेत लाग्दै आएको छ ।
बारले नै कारबाहीकाे माग गरेका उनै व्यक्तिलाई प्रमुख अतिथि बनाउँदै चाकरीमा उत्रिएको आरोप भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधान नेतृत्वको समितिमाथि लागेको छ । उक्त प्रकरणले आश्चर्य मात्र नभई आक्रोश समेत उत्पन्न भएको चोलेन्दविरूद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीको भनाइ छ ।
आफ्नै जिल्ला अदालतको प्रमुख न्यायाधीश र केन्द्रीय बार अध्यक्षलाई बाइपास गरेर केन्द्रबाट विवादास्पद कर्मचारी बोलाइएको विषयमा नेपाल बारमा पदाधिकारीबिच अनौपचारिक छलफल समेत भएको छ । यस विषयमा नेपाल बारको गम्भीर ध्यानाकर्षण भएको र दसैँ बिदापछि प्रतिक्रिया जनाइने बारका एक केन्द्रीय सदस्यले जानकारी दिए ।














