Logo
Logo

ओलीको ढोक्सामा कांग्रेसका चेपागाँडा



एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक जीवनको अन्ततिर छन् । माओवादीको बुइँ चढेर दुई–दुईपटक प्रधानमन्त्री भएपछि उनलाई यस्तो लागेको थियो कि अब उनी नेतामात्र हैन, राजनेता नै बनिसके । अब उनको कुनै विकल्प नै छैन । त्यसपछि उनले नेकपा भत्काए, एमाले फुटाए र ओमाले बनाएर एकछत्र गरे । यो एकछत्रमा उनलाई लागेको थियो कि २०७९ को चुनावमा उनको ओमालेको बहुमत आउँछ, आएन भने पनि ठूलो पार्टी बन्छ ।

तर, २०७९ को आमचुनावले उनको झाँको मात्र झारेन कहिल्यै नउठ्ने गरी ठेगान पनि लगायो । त्यसयता उनी राजनेताको त कुरै छोडों, नेताबाट पनि तल ओर्लेर एक किसिमका ढोक्सावाल बने । चुनावलगत्तै उनको ढोक्सामा माओवादी, रास्वपा, राप्रपालगायतका साना–ठूला माछा पनि परे, प्रदेशदेखि केन्द्रसम्मै । त्यसपछि फेरि उनको खुट्टा भुइँमै भएनन्, म नै सर्वेसर्वा हुँ भन्न थाले । त्यसको केही दिनपछि नै उनको ढोक्साबाट माओवादी उछिट्टियो, रास्वपा र राप्रपा पनि त्यही बाटोमा लागे । हेर्दाहेर्दै उनको ढोक्सा रित्तो भयो । माछाको त कुरै छोडौं, भ्यागुत्ता पनि अड्याउन नसक्ने अवस्थामा पुगे ओलीका ढोक्सा ।

यति हुँदाहुँदै पनि ओलीले आफ्नो ढिपी छोडेनन् । उनी निरन्तर रूपमा ढोक्सा थाप्ने काममै लागे । त्यसका लागि उनले साम, दाम, दण्ड, भेद सबै लगाए । माछा नपरे, भ्यागुता । भ्यागुत्ता नपरे चेपागाँडा, जे भए पनि हुने भनेर ढोक्सालाई नै खेतीपाती बनाएर लागे ।

यो खेतीपातीका लागि उनीसँग कोशी प्रदेशमा खेल्न सक्नेजति धमिलो पानीको मात्रा बाँकी थियो । त्यही धमिलो पानीमा एकपछि अर्को गरेर ढोक्सा थापिरहेका ओलीले अन्ततः माछाका भुरा नपारे पनि कांग्रेसका आठवटा चेपागाँडा पारे । यी चेपागाँडा कांग्रेसका शेखर कोइरालाको ढोक्साबाट यता सरेका हुन् । यी बढ्नेखालका अथवा बढेर भ्यागुत्ता हुने खालका चेपागाँडा हैनन्, तैपनि त्यही आशमा ओली थुक निल्दैछन् ।

नेपालमा अहिले हरेक क्षेत्रमा संस्थापन पक्ष अलोकप्रिय छ । यसका लागि उसको आफ्नो बदनियतपूर्ण क्रियाकलाप र कर्तुतले जति भूमिका निर्वाह गरेको छ, त्यति नै भूमिका उसलाई नियोजित किसिमले बदनाम गरेर अस्थिरतामा खेल्ने र आफ्नो स्थान बनाउने पक्षले पनि खेलेको छ । त्यसमा जनताको अस्थिर चरित्र र तातै खाउँ जलिमरू भन्ने प्रवृतिले पनि भरपूर योगदान गरेको छ ।

कोशी प्रदेशकै कुरा गरौं । त्यहाँ कांग्रेसका २९ मध्ये ८ जना प्रदेशसभा सदस्य डा. शेखर कोइरालाका मान्छे रहेछन् । कोइराला को हुन् त भन्दा कांग्रेसको महाधिवेशनमा हारेका सभापतिका उम्मेद्वार ।

जे भए पनि महाधिवेशनमा हारेपछि उनको प्रजातान्त्रिक चरित्र भनेको पार्टीको विधि विधान र परिधिभित्रै रहेर अहिले निर्वाचित पक्षको विरूद्धमा पार्टीभित्रको जनमत तयार गर्ने र अर्को महाधिवेशनमा जितेर कांग्रेसमा प्राधिकार जमाउने हो । एक प्रजातान्त्रिक पार्टीको नेताका रूपमा उनले गर्ने भनेको अधिकतम कार्य नै यही हो । तर दुर्भाग्य, वीपीको नाम जपेर त्यही परिवारको विरासतका नाममा राजनीतिको वैतरणी तर्न खोजिरहेका कोइराला त्यतिमा अडेनन् । महाधिवेशनमा हार्ने अनि अल्पमतमा रहेर भाग खोज्दै बहुमतमाथि सके शासन गर्ने, नसके बिग्रह गर्ने, के यही हो त कांग्रेसको प्रजातान्त्रिक चरित्र ? के यही हो प्रजातान्त्रिक मूल्य र मान्यता ?

पक्कै पनि त्यसो हैन र यस्तो प्रवृतिलाई कुनै पनि अर्थमा ठीक भन्दै बढवा दिने काम गर्नु हुँदैन । यो भनेको पार्टीलाई अरू कमजोर बनाउने व्यक्तिवादी प्रवृति हो । कांग्रेस यसै पनि कमजोर भैसकेको छ । यसलाई यो नाजुक मोडमा पुर्याउन शेरबहादुर देउबाले नै पर्याप्त छन् । त्यही किसिमको थप योगदान गर्न शेखर कोइराला आवश्यक नै छैन ।

देउबाले त बहुमतको तानाशाही चलाएका हुन् । प्रजातन्त्र भनेकै बहुमतको तानाशाही हो भन्ने अर्थमा यसलाई सर्वथा गलत भन्न पनि मिल्दैन । कोइरालाको पछिल्लो चाल हेर्दा त यो अल्पमतको तानाशाही चलाउने कुरा भयो । यसलाई किमार्थ पनि ठीक हो भन्न सकिन्न र भन्नु पनि हुँदैन ।

यसको अर्थ देउबा ठीक हुन् भन्ने हैन । तर, देउबा कांग्रेसले नचिनेका पात्र पनि त हैनन् । उनी यस्तै पात्र र प्रवृति हुन् र यस्तै भएरै जितेका हुन् । त्यसको अर्थ कांग्रेसको बहुमत अहिले देउबाकै चरित्र बोकेर हिडेको छ । यो चरित्र कांग्रेसको चरित्र हैन भन्नलाई कांग्रेसभित्रै संघर्ष गर्ने र त्यो फरक चरित्र भएका बहुमत कांग्रेसीजन बनाएर तिनीहरूको कांग्रेस बनाउने हो । कांग्रेस महाधिवेशनमा उपविजेताका रूपमा डा. कोइरालाले पाएको म्याण्डेट बढीमा यतिमात्रै हो । तर, उनले उपविजेता भएको बलमा जे जस्तो गतिविधि गरिरहेका छन्, त्यसले कांग्रेसको भलो गरिरहेको छैन र गर्ने पनि छैन ।

हुँदाहँदा त कोइराला यसपटक ओलीको बार्दलीमा पुगेर ढोक्सामै परे । यसै पनि एमाले कांग्रेसको मुख्य प्रतिद्वन्दी हो । उनको चुनाव क्षेत्रमा पनि उनको प्रतिस्पर्धी एमाले नै हो । यसपटक माओवादीको सहयोगमा जितेका उनी यसअघिको चुनावमा माओवादी एमालेसँग मिल्दा एमालेका लालबाबु पण्डितसँग हारेका थिए । यसले के देखाउँछ भने उनको संसदीय राजनीतिको सफलता माओवादीसँग र असफलता एमालेसँग जोडिएको छ । यो तथ्य हुँदाहुँदै पनि उनी पार्टीमा एक किसिमको बिद्रोह गरेर ओलीको ढोक्सामा पर्न गए ।

हो, यसबाट उनका आठजना अनुयायीमध्ये एकजनाले मुख्यमन्त्री र अरू केहीले मन्त्री पद पाउलान् । उनलाई पनि देउबालाई देखाइदिए भनेर एकछिनका लागि मूतको न्यानो मिल्ला । तर, के यसले कांग्रेस बलियो हुन्छ त ? उनले गरेको यो कुकर्म बहुमत कांग्रेसलाई मन परेको छ त ? यसबाट उनको राजनीतिक उचाइ बढ्यो त ? के यसले उनको राजनीतिक भविष्य उज्ज्वल हुने सम्भावना बढायो त ?

अहँ, केही पनि गरेन । यसले त पासा खेलिरहेका कोइराला ओलीको हातमा पासा दिएर च्याँखेदाउ थाप्न गएजस्तो भयो । जब कोही पनि कांग्रेसीजन कांग्रेसलाई यति धेरै नोक्सान गरेर आफ्नो प्रतिपक्षी क्याम्पमा जान्छ भने उसको कांग्रेसी भविष्य सकिन्छ नै । कोइरालाको कांग्रेसी भविष्य पनि एक किसिमले सकिएकै हो ।

अब प्रश्न उठ्छ ? कांग्रेसलाई यतिका धेरै नोक्सान पुर्याएर ओलीको बार्दलीमा जाने कोइरालालाई कांग्रेसले के गर्छ ? स्याबास भन्छ वा कारबाही गर्छ ? यसले एक अर्थमा कांग्रेसको भविष्य निर्धारण गर्छ । यदि कोइरालालाई कुनै पनि किसिमको कारबाही नगर्ने हो भने अब कांग्रेसमा अनुशासनहीनता बढेर थामी नसक्नु हुन्छ । उनको शक्ति र फूर्ति दुवै बढ्छ । उनी कांग्रेसलाई थप नोक्सान पुर्याउन उत्साहित हुन्छन् । यसरी अनुशासनहीन हुँदा पनि शक्ति बढेको देखेर अरू लोभी–पापी पनि उनको पछि लाग्छन् । यसले अन्ततः कांग्रेसलाई थप कमजोर बनाउँछ ।

त्यसैले अब कांग्रेसले ओलीको ढोक्सामा परेका कोइरालामाथि डण्डा चलाउन पटक्कै ढिला गर्नु हुदैन । उनका आठ अनुयायीलाई तुरून्त पार्टीबाट निस्कासन गर्नुपर्छ । त्यसो गरियो भने मात्र कांग्रेसमा जान लागेको पहिरोको रोकथाम हुन्छ । अन्यथा, कोशीबाट सुरू भएको यो पहिरो सुदूरपश्चिमसम्मै पुग्छ । त्यसका लागि कांग्रेसले पार्टी फुट्छ वा के हुन्छ भनेर चिन्ता गर्नै हुदैन ।

अहिले नै पनि कांग्रेस कहाँ एउटा पार्टी छ र ? यो त यसै पनि अनेक व्यक्ति र गुटको स्वार्थ समूह भैसकेकै छ । बरू फुटे पनि फुटोस् भनेर कारबाहीको डण्टा चलायो भने कोइरालाको पक्षमा पार्टी फुटाउनको लागि कुनै पनि अंकगणित पुग्दैन । त्यसो हुँदा चोरलाई चौतारो हैन, सुली नै हुन्छ ।

यो स्तम्भकार, कुनै पनि पार्टी फुट्नुपर्छ भन्ने पक्षधर हैन । न हिजो थियो न आज नै । पार्टी फुटेर देश बलियो हुँदन । यो स्तम्भकार त विचार र कार्यक्रम मिल्नहेरू एक ठाउँमा आएर नेपालमा बढीमा दुई पार्टी हुनुपर्छ भन्ने मान्यता राख्दछ । वैचारिक आधारमा देश दुई दलीय ध्रुवीकरणमा नगई सुखै छैन । यदि त्यसो भएन भने नेपाल सधैं राजनीतिक रूपमा अस्थिर हुन्छ र त्यो अस्थिरताले नेपालको कहिलै भलो हुदैन । न नेपाल समृद्ध हुन्छ, न नेपाली सुखी ।

नेपालको दुःख अस्थिरता हो, मूलतः राजनीतिक अस्थिरता । त्यसको मुख्य अभियुक्त ओली हुन् । उनले नेकपा र एमालेलाई सकाएर नेपाललाई वैचारिक धरातलमा आधारित दुई ध्रुवमा ध्रुवीकरण हुने प्रक्रियालाई अवरूद्ध गरे । उनले पटक पटक संसद विघटन गर्ने निर्णय गरेपछि त्यसलाई जोगाउने नाममा देश ओली पक्षधर र विरोधी भन्ने खालको अप्राकृतिक ध्रुवीकरणमा गयो ।

विचारले दक्षिण रहेको कांग्रेस र उत्तर रहेका माओवादी र एकीकृत समाजवादी एकै ठाउँमा आएर गठबन्धन बनाउनु पर्यो । त्यो गठबन्धन चुनावमा जानुपर्यो । यसले देशलाई जुन किसिमको अप्राकृतिक ध्रुवीकरणमा लग्यो, त्यसबाट अरू नयाँ पार्टी जन्मे । उही विचार र उही कार्यशैली भएका पार्टीहरू देशका लागि आवश्यक नै छैनन् । मूलरूपमा कांग्रेस र कम्युनिष्टकै चरित्र बोकेका अरू पार्टी देशका आवश्यकता नै हैनन् । धेरै पार्टी हुनु भनेको धेरै नेता हुनु हो । धेरै नेता हुनु भनेको समाधान हैन, समस्या हो ।

ओली पात्र हैन, प्रवृति भैसक्यो, अस्थिरतामा खेल्ने चरम सत्तालिप्सा प्रवृति । यही प्रवृति नै हाम्रो देशको आधा समस्या हो । ठूलो कुरा गर्ने, जनताका आशा र आकांक्षाहरू चुल्याइदिने तर डेलिभरी नगर्ने । यही प्रवृति झाँगिदै जाँदा रवि, वालेनहरू सिक्वेलमा आएका हुन् । बोले हुने, डेलिभरी दिनु नपर्ने । जनता त्यसैमा बहकिने । अनि, नेपाल पछाडि नपरे को पर्ने ? नेपाली जनताले दुःख नपाए कसले पाउने ?

समग्रमा ओलीको ढोक्सामा चेपाहागाँडा नै सही, केही पर्न थालेको छ । त्यसले नेपालको राजनीतिलाई थप अस्थिर त बनाउने छ नै, अनिश्चिततातिर पनि धकेल्ने छ । त्यसलाई रोक्नका लागि कांग्रेसले निर्ममतापूर्वक यथाशीघ्र ती चेपागाँढाहरूको बध गर्नुपर्छ । किनकि, यी चेपागाँढाहरू विषले भरिएका छन्, यिनीहरू फैलिए भने नेपालको राजनीति पूरै विषाक्त हुन्छ ।

ओली त यसै पनि त्यही बर्बादीमा रमाउने एक ताण्डवी हुन् । उनलाई चाहिएको फगत् सत्ता हो, त्यसका लागि उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसको स्थिति छ ।

सम्भव छ, यो दशैमा ओली यो प्रवृतिबाट बाहिर निस्कुन् । सम्भव छैन, उनी पात्रका रूपमा बाँचुन् तर यो प्रवृतिको भने बध हुनैपर्छ । अन्यथा, न नेपाल समृद्ध हुन्छ, न नेपाली सुखी ।

घरदेशमा हौँ वा परदेशमा, हामी सबै नेपालीको चाहना त एउटै हो, समृद्ध नेपाल, सुखी नेपाली । सबैका लागि यही मनचिन्ते पूरा होस्, यसपटकको दशैँको, यही शुभकामना ।

प्रतिक्रिया दिनुहोस्