काठमाडौं, १६ माघ
नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजिनामा दिएका छन् ।
तर, नेपाल प्रहरीमा भने ठिक उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई सरक्षण गरेर पीडितहरुलाई पनि उल्टो सताउने काम नक्सालमा भएको छ ।

दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परेपनि त्यसउपर कुनै छानबिन नगरी थन्काएर राखिएको हो । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाा प्रमुख एसएसपी राकेश सिंहविरुद्धका गम्भीर उजुरीमा प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो । दुवैमाथि महिला प्रहरी कर्मचारीमाथि यौन शोषण गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयले उजुरी उपर चासो नदिएपछि दुवैले गृह मन्त्रालयमा समेत उजुरी गरेका थिए । तैपनि न्याय पाउन सकेका छैनन् ।
प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसाउपर बिशेष अभियान चलाइरहेको छ । तर, संगठनभित्रैकै यस्ता घटनामा पनि सिनियर अधिकृतहरुलाई जोगाउने गरेको छ । यसबाट संगठनका तल्लो तहका महिला प्रहरीले प्रहरीभित्रै असुरक्षित महशुस गरेका छन् ।
उता आर्थिक अनियमितताका उजुरीको अवस्था पनि उस्तै छ । प्रदेश प्रहरी कार्यालय पोखराका डिआईजी बिनोद शर्माविरुद्ध तथ्यसहितका उजुरी परेको चार महिना भइसकेको छ । मातहतका प्रहरी कार्यालयबाट रेट नै तोकेर उनले उठाउने गरेका छन् । पैसा नदिनेलाई दुःख दिएको भन्दै प्रहरीबाटै उजुरी परेपछि छानबिनमा चासो दिइएको छैन । प्रदेश नम्बर पाँचका डिआईजी सुरेशबिक्रम शाह र कर्णाली प्रदेशका पूर्णचन्द्र जोशी पनि अवकाशको मुखमा असुलीमा व्यस्त छन् । त्यस्तै तराईका जिल्लाका एसपीविरुद्ध समेत दर्जनौं उजुरी छन् ।
उजुरी छानबिन र कारबाही गर्ने निकाय प्रहरीको निरीक्षणालय हो । जसको नेतृत्व डिआईजी मनोज नेउपानेले गरेका छन् । उनी कारबाही गर्ने भन्दा आफ्नो व्यक्तिगत स्वार्थपूर्तीमा लागेका छन् । अफिसको काम भन्दा क्रसर तथा टिप्परमा भएको लगानीको पैसा उठाउन नै उनी व्यस्त हुने गरेको निरीक्षणालयमा कार्यरत प्रहरीहरु बताउँछन् । गम्भीर उजुरीको छानबिनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत चासो दिएका छैनन् । जसकारण प्रहरीभित्र महिलाहरुले असुरक्षित महशुस गरेका छन् ।











