
काठमाडौं । हाल देशभर २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । मंगलबार रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी पदमुक्त भएसँगै देशभर स्थानीय तह, प्रदेश सभा र संघीय संसद् गरि २४ स्थानमा पद रिक्त भएको हो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य एक, जिसस प्रमुख दुई, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, वडाध्यक्षको १७ पद रिक्त भएको छ । आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुनेछ ।
आयोगको तथ्यांकअनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उनी निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेल अघिल्लो पुसमा मिर्गौला फेल भएर निधन भएपछि यो पद रिक्त छ । त्यस्तै ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल गत १३ असोजमा उपचारका क्रममा निधन भएपछि पद रिक्त छ ।
त्यस्तै दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएपछि यो पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ ।
आयोगका अनुसार सुनसरीको गढी गाउँपालिका–६, उदयपुर त्रियुगा नगरपालिका– १२, रौतहट इशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६, काठमाडौं कीर्तिपुर नगरपालिका– ४, नुवाकोट ककनी गाउँपालिका– २, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५ पनि रिक्त छ ।
यता बझाङ सुर्मा गाउँपालिका– ४, डोटी पूर्वीचौकी गाउँपालिका– ६ र काठमाडौं महानगरपालिका– १६, गुल्मी मुसीकोट गाउँपालिका– १, रोल्पा रुन्टीगढी गाउँपालिका– ४, बर्दिया ठाकुरबाबा नगरपालिका– ४, कालिकोट तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, दार्चुला दुहुँ गाउँपालिका– ५ पद रिक्त छ । आयोगले ती रिक्त स्थानहरुमा उपनिर्वाचन गर्ने तयारी थालेको छ ।














