बाँके । सेवाग्राहीलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो ।

२०७८ चैत १७ गतेको मन्त्री परिषद वैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशला, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरुस्तका साथ निर्णय कार्वान्यन गर्न लागि परेकी छन् ।
सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्युनीकरण गर्न आफु लागि परेको बताइन् ।
‘हाम्रो मातहतका कार्यलयमा सेवा लिन जाँदा विभिन्न खाले समस्याहरु भएको भन्दै समयसमयमा गुनासो आउने गरेको छ । नागरिकहरुबाट आएको गुनासोलाई मैले नजिकबाट नियालेको छु’, मन्त्री श्रेष्ठले भनिन्, ‘यस्ता खालका गुनासो न्युनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रसाशन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्र्शी र गुणस्तरीय बनाउने कार्यमा म र मेरो नेतृत्वको सम्पूर्ण मन्त्रालय तथा विभागका कर्मचारीहरु
क्रियासिल हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्वान्वयन गरिरहेका छौँ ।’ आम नागरिकबाट आएको सुझावलाई मध्यनजर गरि आवश्यकताका आधारमा आगामी दिनहरुमा पनि शाखा बिस्तार गर्दै जाने उनले बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमनी दुवाडी, नापी विभागका प्रकाश जोशी, कार्यालयका प्रमुखहरु, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।














