Logo
Logo

निगमले जहाज किन्दा लिएको ऋणको असोजसम्मको किस्ता तिर्‍यो



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ ।

निगमले दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि निगमको व्यापार विस्तार तथा आम्दानीमा बिगत वर्षमाभन्दा सुधार हुँदै गएको छ।

नगद प्रवाहमा सुधार भएपछि प्रमुख इन्जिन मर्मत खर्च नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरूमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्र स्टोलमा उडान भर्ने तीन वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना समेत अन्तिम चरणमा छ।

निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रवर्द्धन हुने निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्