
काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीका अनुसार रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीले निष्कर्ष निकालेको छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।
अहिलेसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् ।
असोज ११ मा पहिलोपटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको छ ।














