
काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलामा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ । यसअघि बुधबार युएईलाई सात विकेटले हराएको नेपालले आज पनि हङकङविरुद्धको खेलमा जित निकालेको हो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए । गुल्सन झाले पनि अविजित १४ रनको योगदान गरे । उनले पाँच बलमा दुई छक्का प्रहार गरे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो ।














