काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेपछि स्थगित गरिएको हो ।
बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै पराजित पक्षले धाँधली भएको आरोप लगाएका छन् । अध्यक्ष पदका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए ।

विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि भएको पाइएको छ । मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकाले निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको थियो ।
एनआरएनएको बिहीबार राति सार्वजनिक नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । तर, दुई जना उम्मेदवारले भने धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गरेका गरेका छन् ।
निर्वाचन परिणामलाई लिएर विवाद चर्किएपछि आजलाई निर्धारण गरिएको समापन समारोह पनि बिथोलिएको छ । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाम विवादित बनेको हो ।
निर्वाचन समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइएको थियो । तर, निर्वाचनमा धाँदली भएको भन्दै निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हो । निर्वाचन प्रक्रिया नै स्थगित गरिएको प्रधानमन्त्री जाने कार्यक्रम पनि रद्द गरिएको छ ।














