काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा जापानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दैछ । मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगेको हो । जापान समूह ‘डी’ को विजेता बनेपछि अन्तिम चारमा पुगेको हो । नेपाल सेमिफाइनल जित्दै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली यू–१९ एसिया कपमा छनोट हुनेछ ।

यस्तै, अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्दैछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू–१९ एसिया कप पुग्ने अवसर हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू–१९ एसिया कपमा पुग्नेछ ।














