Logo
Logo

यी हुन् दसैँमा बज्ने कालजयी गीत



काठमाडौं । दसैँ आउनु केही दिन अगाडिदेखि विद्युतीय सञ्चारमाध्यम मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्त्व राखेको छ ।

हिन्दू नेपाली यति बेला दसैँको मध्यमा छन् । अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द भएको छ । परदेशिएका अनुकूल मिल्ने धेरै नेपाली घर फर्किएका छन् । विद्युतीय सञ्चारमाध्यममा दसैँ गीत घन्किरहेका छन् । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन् । धेरै दसैँ गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने केही गीतले नेपालीको मन छुने गरेको छ ।

१. दसैँ आयो
वर्ष र दिनको रमाइलो चाड
घरघरमा आइपुग्यो
नेपालीजनको महान् पर्व
आँगनमा आइपुग्यो
हो…दसैँ आयो
हो…दसैँ आयो ।

मालश्री धुनपछि ‘मुग्लान’ फिल्मको यो गीतले दसैँको भान दिन्छ । परदेशीहरू गाउँ फर्केको, दसैँमा ठूलाबडाबाट टीकासँगै आशीर्वाद लिएको, पिङ खेलेको, गाउँमा उमङ्ग छाएको यस्तैयस्तै आभास दिन्छ यो गीतले । दसैँका बेला गाउँशहरमा धेरै बज्ने गीत हो, यो ।

२. नमुछे आमा दहीमा टीका
दसैँ आउनेवित्तिकै रेडियो÷टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दसैँ गीतको चर्चित गीत बन्यो ।
भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।

३. विछोडको पिडा नसकी खप्न दसैँको बेलामा
दसैँसम्बन्धी गीत भन्ने बित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दसैँ झल्काउने आलाप बजेपछि दसैँ आइसकेको अनुभूति हुन्छ । यो गीत दसैँसम्बन्धी पुरानो चर्चित गीत हो ।

सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दसैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दसैँमा बजाउने गरेका छन् ।

४. दसैँ नै हो कि यो मेरो दशा
यो गीत पनि दसैँको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ ।

न्यु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दसैँको परिचय जस्तै बनेको छ ।

५. कहाँ हो समुन्द्रपारि कर्मले डो¥यायो
कर्तव्यपालनको सिलसिलामा सात समुन्द्रपारि पुगेका नेपालीको कथा बोल्छ यस गीतले । चलचित्र ‘म तिमीबिना मरिहाल्छु’को यो गीतमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत सैनिकको ‘दसैँ पीडा’ समेटिएको छ ।

साथीभाइको रमझममा रमाउन खोजे पनि आफू रमाउन नसकिरहेको, घरको यादले अति पिरोलेको कुरा ति सैनिक गीतमा पोख्छन् ।

६. वर्षमा दिनैमा लै लै…
सुगम पोखरेलको स्वरमा रहेको गीत ‘वर्षमा दिनैमा लै लै…’ दसैँको अर्को सदाबहार गीत हो । रवि श्रेष्ठको शब्द रहेको गीतमा सुगम स्वयंले सङ्गीत भरेका छन् ।
परदेशमा रहेको दाइले दसैँ र तिहारमा घरपरिवारलाई गरेको सम्झना गीतमा समेटिएको छ । दसैँमा बोटोभरि आँखा फैलाएर बस्ने आमाबुवा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीलाई दसैँमा आउने सन्देश यो गीतमा छ ।

परदेशमा चाडबाडमा काम गरेर बस्दा हुने पीडा समेटिएको यो गीतको भाका र शब्द जति मिठासपूर्ण छ, त्यति राम्रो भिडियो समेत बनेको छ ।

७. यसपालि दसैँमा ठूलो दाजु आउने रे
कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् ।

कुल पोखरेललाई दसैँमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।

८. यो दसैँमा म घर आइनँ
नेपाली लोकदोहोरी गीतमा दसैँ गीत भन्ने बित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् ।

लोकदोहोरी मन नपराउनेले पनि यो गीत दसैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रूपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।

९. रातो टीका दसैँको जमरा
नेपाली चलचित्रमा पनि दसैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दसैँको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैँमा उत्तिकै बज्ने गर्दछ ।

१०. थालैभरि रातो रातो अक्षता र पाती
सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङ्ले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दसैँमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरू समेटिएको गिरीको यो गीत पनि दसैँ गीतमा रुचाइएको गीत हो ।

११. प्रदेशबाट फरिया ल्याइदिउँला
शिव थापा मगरको स्वर, शब्द, सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दसैँ गीत हो । उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैँमा धेरैले सुन्न थालेका छन् ।

आजभोलि रेडियो, टीभी र विद्युतीय माध्यमा गुञ्जने यस्ता थुप्रै दसैँ गीतहरू छन् । जसले दसैँको माहौलमा उल्लास थपिरहेका मात्र छैनन्, पीडादायक पनि बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्