Logo
Logo

थारु बस्तीमा सखिया नाचको रौनक


693
Shares

दोधाराचाँदनी । यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा रम्छन् ।

सीतागायत गाउँका सबैजना साँझ आठ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । ‘साँझ खाना खाएर सबै जना बडघरको आगनमा जम्मा भएर सखिया नाच्छौँ ।’ उनले भने, ‘सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।’ दसैँसुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको उनी बताउँछन् ।

‘यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ’, सीताले भने, ‘सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको आभासनै हुँदैन ।’ उनले पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडि देखिनै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको बताए ।

‘अहिले दसैँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे’, उनले भने, ‘हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।’

थारु समुदायमा दसैँमा सखिया नाचको विषेश महत्त्व हुने देवी चौधरी बताउँछन् । ‘सखिया नाच नभएपछि गाउँमा दसैँ आएको हो कि होइन थाहा हुँदैन ।’ उनले भने, ‘थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।’

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताए । उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । ‘गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ’, उनले भने, ‘गीत गाउने चलन छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्तयमा गाउन मिल्दैन ।’

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले सुनाए ।

‘आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ’, उनी भन्छन्, ‘हाम्रो समुदायमा दसैँ धुमधामका साथ मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।’

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ ।

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्