Logo
Logo

इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी पुर्‍याइयो, स्थानीय प्रशासनले शव परिवारसम्म पुर्‍याउने



काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परि निधन भएका चार विद्यार्थीको शव नेपाल ल्याइए लगत्तै धनगढी लगिएको छ ।

इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका चार शव नेपाली सेनाको स्काइ ट्रकबाट कैलालीको धनगढी विमानस्थल लगिएको हो ।त्यहाँबाट स्थानीय प्रशासनले शव परिवारसम्म पुर्याउने बताइएकोे छ ।

मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइएको हो । फ्लाई दुबईको विमानमार्फत शव नेपाल ल्याइएको थियो ।

दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आक्रमणमा परी बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको थियो ।

त्यसै गरी, हमासकै आक्रमणमा परेका कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् ।

मृत्यु भएका बाँकी ६ विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेकाले नेपाल आइपुग्न केही दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्