Logo
Logo

सहारा बनेको छोरो बाकसमा फर्किदा…


रासस

1.2k
Shares

महेन्द्रनगर । मुलुकभर दसैँको रौनक बढिरहेका बेला आज सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिँगो टोल शोकमा डुब्यो ।

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झर्नुभएकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए ।

तस्बिर/अनलाइन खबर

‘दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो’, छिमेकी सुरेश पालले भने, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै दुःखदायी बनेको छ ।’

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ । दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए ।

‘दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्’ दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।’

यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो । दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आए ।

आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुनुहुन्छ । दीपेशका भाई वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बिपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन् । विष्टको सोमबार महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्