Logo
Logo

‘लूट’ निर्देशक निश्चल फर्के निर्देशनमा, ‘दिमाग खराब’ले जोगाउला साख ?



काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे ।

लामो समय निर्देशनबाट बाहिर रहेका बस्नेत ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्केका छन् । लूटमार्फत नेपाली सिनेमाको प्याराडाइम नै सिफ्ट गरेका बस्नेत यसपटक सफल हुन्छन् या असफल हेर्न बाँकी छ ।

दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उनी भन्छन्, ‘मैले कुनै राजनीतिक मुद्दालाई कथा बनाएको होइन तर राजनीति भने मिसिएको छ ।’

उनले चलचित्रमा देखिएका पात्र राजनीति वा त्यसको परिस्थितिका कारण सिर्जित हुने गरेको भन्दै चलचित्र विशुद्ध मनोरञ्जनका लागि निर्माण गरिएको बताए ।

‘एउटा साधारण मान्छेको आफ्नै भोगाइहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग कसरी खराब हुनपुग्छ भन्ने विषयलाई चलचित्रको कथा बनाइएको छ’, उनले भने । बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरिसकेका छन् ।

चलचित्र दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्