काठमाडौं । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज विजेता बनेको छ । उपाधिका लागि शुक्रबार भएको खेलमा नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नुअघि ६ विकेट गुमाएर भेट्टाएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।
आक्रमक खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्लमात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८÷३ थियो ।
कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए । रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन् ।
सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे । यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २–२ विकेट रह्यो ।














