काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुका लागि दूूतावासमा स्वागत समारोहको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् । ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन)का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो ।

नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको छ । राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरे । उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए ।
नेपाल क्रिकेट संघका अध्यक्ष चन्द, संघका सचिव पारस खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरे । उनीहरुले क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको सुरुवात भएको बताए ।














