Logo
Logo

निगममा हाम्रा होइन, राम्रा खोजौं


- दृष्टि न्युज/संवाददाता


राम्रा होइनन्, हाम्रा मान्छे खोज्दै २०७५ भदौ ३१ गते चार वर्षका लागि नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त झापाका मदन खरेलले १५ महिनामै राजीनामा दिएर भागेपछि निगमको व्यवस्थापन अलपत्र परेको छ । खरेलको नियुक्तिबाट सरकारले पाठ सिकेको भए अब हाम्रा होइनन्, राम्रा मान्छेलाई निगमको जिम्मेवारी दिनुपर्ने कुरा निगमका कर्मचारीहरुले उठाएका छन् । निगमको कार्यकारी प्रमुखका लागि प्रधानमन्त्री केपी शर्मा ओली वरपरका मान्छेलाई चाकरी गर्ने काम केही व्यक्तिहरुले सुरु गरिसकेका छन् । पक्कै पनि योग्य र क्षमतावान मान्छे जागिर चाहियो भनेर चाकरीमा जाँदैनन् । जो चाकरीमा जान्छन्, तिनीहरु स्वार्थी हुन् भन्ने कुरा ओलीले बुझ्नुपर्छ । राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने संस्कार नेकपाको सरकारले पनि स्थापित गर्न सकेन । जसले गर्दा नियुक्तिका लागि विगतमा बद्नाम, भ्रष्ट छवि भएका व्यक्तिले नै छलाङ मार्ने गरेका छन् । त्यसैले खरेलले राजीनामा दिएर गए पनि उनलाई बोकेर हिँड्ने गिरोह बालुवाटारमै सक्रिय छ । त्यो गिरोहबाट जोगिन सके मात्र निगम जोगाउन सकिएला । नभए निगम डुबेको हेर्न बाँकी दुई वर्ष पनि कुर्नु नपर्ला । अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज छन् । उक्त जहाजलाई एक वर्ष अगाडिदेखि चीनको ग्वाङझाओ, दक्षिण कोरियाको सिओल, जापानको नारिता उडाउने योजना थियो । तर, खरेलले ठिक त्यसको उल्टो काम गरेपछि निगम संकटमा पर्न थालेको हो । जति अन्तर्राष्ट्रिय उडान गर्न सक्यो, त्यति फाइदा हुने हुँदा अब निगममा स्वच्छ छवि भएका योग्य व्यक्ति ल्याइनुपर्छ ।

निगमको अध्यक्षमा खरेलको नियुक्ति हुनासाथ भ्रमण वर्ष २०२० लाई अलपत्र पारेर खरेल भाग्छन् भन्ने कुरा दृष्टि साप्ताहिकले लेखेको थियो । नभन्दै त्यसको पुष्टि दुई साता अगाडि खरेल स्वयंले गरिदिए । खरेलको कार्यकालमा निगमभित्र कति भ्रष्टाचार र अनियमितता भयो भन्ने कुरा पनि अब मन्त्रालयले छानबिन गर्नुपर्छ । किनभने, जहाज खरिद गर्दा भन्दा बढी भ्रष्टाचार र कमिशन जहाज मर्मत, सञ्चालन गर्दा हुने गरेको छ । जसबाट व्यवस्थापनले एउटै इन्जिन मर्मतमा करोडौं कमिशन खाने गरेको इतिहास छ । तत्कालीन व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय बस सञ्चालन गर्न बजेट छुट्यायो । त्यसका लागि टेण्डर पनि भयो । तर, खरेलले विद्युतीय बसबाट कमिशन नआउने भएपछि दुईवटा को–बस खरिद गर्न जर्मनीको म्याटर ट्रेडिङ कम्पनीसँग सम्झौता गरे । नेपाल भ्रमण वर्षका नाममा खरिद गरिएको को–बस अहिलेसम्म आइपुगेको छैन । उक्त कम्पनीको स्थानीय एजेन्ट दीपक रेग्मी हुन् । सम्झौता बमोजिम उक्त को–बस नोभेम्बर अन्त्यसम्म दिनुपर्ने थियो । तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक उपकरणको माध्यमबाट सुविधायुक्त बनाउन ‘ग्राउण्ड ह्यान्डलिङ’ का थुप्रै उपकरण खरिद गर्ने निर्णय गरेका थिए । तर, खरेल आएपछि सबै काम ठप्प भयो ।

अन्तराष्ट्रिय उडानका लागि एपियु र जीपियु अत्यन्त महत्वपूर्ण प्रविधि हो । एयरबस ३२० को दुईवटा एपियु गत वर्षदेखि थन्क्याएर कमिशनको लागि भाडाको एपियु सञ्चालन गरिएको छ । निगमको २ वटा एपियुमध्ये एउटा एपियु बनाउन अमेरिकन कम्पनी एरो टर्वाइनलाई जिम्मा दिएको थियो । उक्त दुईवटा एपियुमध्ये एउटा एपियु कामै नलाग्ने भनेर कम्पनीसँग मिलेर राजेश श्रेष्ठ र खरेलले चरम भ्रष्टाचार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्