Logo
Logo

अनशनकारी थापालाई पनि काठमाडौं ल्याइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राख्दै इलाममा आठ दिनअघि आमरण अनशन सुुरु गरेका युवा विजय थापालाई शुक्रबार आज काठमाडौं ल्याइएको छ । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको केही घण्टा नवित्दै थापालाई पनि थप उपचारका लागि भन्दै झापाबाट काठमाडौं ल्याइएको हो ।
थापालाई नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टरबाट चन्द्रगढी विमानस्थलबाट काठमाडौ ल्याइएको हो । चिकित्सा शिक्षाको सुधारको माग्दै गर्दै इलाममा अनशनमा बसेका डा. केसीसँगै अनशन बस्न थालेका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौं पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए । अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस्