Logo
Logo

स्वास्थ्यमा घुस लिंदै कर्मचारीको समायोजन संशोधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक चलखेलका आधारमा कर्मचारीको समायोजन सूची संशोधन गरेको छ । मेडिकल अधिकृत, सिनियर अहेव, अहेव, हेल्थ असिस्टेन्ट र अनमिको समायोजन संशोधन घुस लिंदै गरेको आरोप मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम बिष्टमाथि लागेको छ ।

स्वास्थ्य मन्त्रालयले २०७६ माघ ७ गते समायोजन भएका ३९ कर्मचारीको संशोधन गरेको छ । पहिला समायोजन भएका कर्मचारीलाई थाहा नै नदिई अर्को कर्मचारीलाई संशोधन गरी पठाइएको छ । यसरी संशोधन गर्ने क्रममा स्वास्थ्यका कर्मचारीले दररेट अनुसार घुस असुली गरेका छन् । मकवानपुरको बेतिनी स्वास्थ्य चौकीबाट अहेव उमेशप्रसाद रतालाको समायोजन दुगौथली गाउँपालिका बझाङमा भएको थियो । स्वास्थ्यका जुनियर कर्मचारीलाई घरपायक सरुवा गर्ने नीति अनुसार रतालालाई उनको घरपायक दुगौथली गाउँपालिकामा सरुवा गरिएको थियो । तर उनलाई थाहा नै नदिई उनको समायोजन संशोधन गरी थलारा गाउँपालिका बझाङमा गरिएको छ । दुगथौलीमा थलाराका अहेव विकास रोकायालाई खटाइएको छ । रोकायाबाट घुस लिएर रतालालाई थाहा नै नदिई संशोधन गरी थलारा पठाइएको आरोप छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक लेनदेनकै आधारमा समायोजन संशोधन गरेको गुनासो कर्मचारीको छ । यसअघि समायोजन भएका स्वास्थ्यका कर्मचारीहरुले मेडिकल बोर्डलाई नै प्रभावित पारी कडाखालका रोग लागेको सिफारिस गराउँदै संशोधन गराएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी परेको थियो । शारिरीक रुपमा अशक्त नरहे पनि केही कर्मचारीले आर्थिक चलखेल र व्यक्तीगत चिनजानका आधारमा अशक्त भएको देखिने झैं गरेर मेडिकल रिपोर्ट बनाएर स्वास्थ्य मन्त्रालयमा पेश गरी सरुवा संशोधन गरेको बिषयमा उजुरी परेको थियो । यसरी सरुवा संशोधन गराउनेमा हट्टाकट्टा र स्वस्थ कर्मचारीहरु बढी थिए । वीर अस्पतालको स्टोरमा बसेर अकूत सम्पत्ति कमाएका अहेवहरुले बाहिरी जिल्लामा सरुवा भएपछि सामान्य रोग लागे पनि कडा रोग लागेको सिफारिस बनाउन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्