Logo
Logo

आईसीसी टी-२० विश्वकप छनोटमा नेपाललाई झड्का, उच्च लयमा रहेका दीपेन्द्र घाइते


3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० विश्वकप एसिया छनोटका सबै खेल गुमाउने सम्भावना भएको छ । 

अभ्यासका क्रममा घाइते भएपछि क्रिकेटर ऐरीले विश्वकप एसिया छनोटका सबै खेल गुमाउने सम्भावना बढेको हो । सोमबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यासका क्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो । त्यसलगत्तै घाइते ऐरीलाई उपचारको लागि मेडिसीटी अस्पताल पुर्‍याइएको थियो । 

ऐरी घाइते भएपछि उनको ठाउँमा  सिंगापुरविरुद्धको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो । नेपालले सिंगापुरमाथि आठ विकेटको सानदार जित निकालेपछि मात्रै ऐरी वैशाखी टेकेर त्रिवि मैदानमा आएका थिए । 

आफ्नो पहिलो खेलमा सानदार जित निकालेको नेपालले मंगलबार मलेसिया र बिहीबार ओमानसँग खेल्दैछ । त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ । उच्च लयमा रहेको बेलामा घाइते भएका दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा सम्भावना न्यून छ ।

अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरूद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए । त्यस्तै चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा उनले विश्व कीर्तिमान राखेका थिए । 

उनले असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले नौ बलमा खेल्दा आठ छक्का र एक बलमा दुई रन जोड्दै नौ बलमै अर्धशतक पूरा गरेका थिए । 

यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो । भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्