काठमाडौं । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यामा संलग्नको आशङ्कामा एकजना पक्राउ परेका छन् ।

सोमबार दिउँसो प्रधानाध्यापक स्वर्णकारको गोली हानी हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशङ्कामा कलैयाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो । यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन । थप खुलेपछि यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि वयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।














