
बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । चार दिने औपचारिक नेपाल भ्रमणमा रहेका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका हुन् ।
सोमबार पोखरा पुगेका महासचिव गुटेरेस आज बिहान अन्नपुर्ण वेसक्याम्प पुगेका छन् । उनी आज (मंगलबार) बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने र त्यहाँबाट हेलिकोप्टरमा बिहान ८:५० बजे लुम्बिनी पुग्नेछन् ।
हेलिकोप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।
मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।
मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान काठमाडौंबाट आउने छन् । कोषका तर्फबाट महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।
गुटेरेसले पत्रकारहरुसँग बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने बताइएको छ । महासचिव गुटेरेसले लुम्बिनीमा वृक्ष रोपण गर्नेछन् । लुम्बिनीमा डेढ घन्टा बिताएपछि गुटेरेस १०ः३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।














