Logo
Logo

रिगलविरुद्धको मुद्दा खतिवडा, मल्ल र चुडालको पूर्ण इजलासमा



काठमाडौं । गुण्डानाइके योगराज ढकाल (रिगल)विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएपछि सर्वोच्च अदालतमा खुँडा हानेर मारिएका चतन मानन्धरकी पत्नी भारती सर्वोच्च अदालत पुगेकी थिइन् ।

उक्त मुद्दामा सुनुावाइका लागि सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ ।

२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा २०७५ साल वैशाख ११ गते बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतनकी पत्नी भारतीले सर्वोच्चमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।

रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र गिल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाएकी छन् ।

यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको थियाे । तर, यस मुद्दामा आजबाट भने निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्