Logo
Logo

कोशीमा कार्कीलाई सकस: एमाले च्याप्ने कि गठबन्धन जोगाउने ?


882
Shares

काठमाडौं । असोज २८ गते कोशी प्रदेशको मुख्यमन्त्री नयुक्त भएका केदार कार्कीलाई सरकार विस्तारमा सकस परेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका कांग्रेस सस्थापन इतर पक्षका कार्कीले कात्तिक ४ मा प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

त्यसपछि मुख्यमन्त्री कार्कीले सबै दललाई समेटेर कोशीमा ‘सहमतिको सरकार’ बनाउने बताएका थिए । ‘मध्यावधि चुनावमा जानबाट रोक्न ९५ प्रतिशतभन्दा बढी सांसदले मलाई विश्वासको मत दिनुभएको छ, अब छिट्टै सहमतीय सरकार बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छु’, विश्वासको मत पाएपछि पत्रकारसँग कुराकानी गर्दै उनले भनेका थिए ।

तर, विश्वासको मत पाएको १० दिन बितिसक्दा पनि कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । कांग्रेसको इतर पक्षका नेता कार्की केन्द्रीय नेतृत्वको गठबन्धनको खिलाप गएर एमालेका ३९ र कांग्रेसका आफूसहित ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यसपछि उनलाई धाप दिने नेता डा शेखर कोइरालाले असोज २७ गते सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बालुवाटारमा एक लिखित ‘चिर्कटो’मा हस्ताक्षर गरेसँगै कार्की अप्ठ्यारोमा परेका छन् । एमालेको सहयोगमा मुख्यमन्त्री बनेका उनलाई अहिले एमालेसँग मिलेर सरकार चलाउने कि गठबन्धनसँग मिल्ने ? भन्ने सकस परेको छ ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको एमाले कांग्रेससँग मात्रै सत्ता सहकार्य गर्न चाहन्छ । एमालेले प्रष्टरूपमै सहमतीय सरकार बन्न नसक्ने बताएको छ । एमालेले गठबन्धनमा आबद्ध दलहरुलाई सहभागि गराए आफू सरकारमा नरहने अडान मुख्यमन्त्रीलाई सुनाइसकेको छ ।

एमालेको कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी एमाले र कांग्रेसका बीचमा हुने सहमतिबाट मात्रै अगाडि बढ्ने पक्षमा आफूहरु रहेको बताउँछन् । आफूँहरुलाई पाखा पन्छाएर सरकार बनाउने परिस्थिति बनाइएको खण्डमा सरकार ढाल्न पछि नपर्ने पनि एमालेले चेतावनी दिएको छ ।

कार्कीलाई सम्भावित अप्ठ्याराबारे पनि एमालेले सचेत गराइसकेको छ । यता, गठबन्धनमा आबद्ध दलहरु भने एमालेलाई जसरी पनि सरकारबाट बाहिर राख्ने चाहनामा छन् ।

केन्द्रमा जस्तै कोशीमा पनि गठबन्धनकै सरकार हुनुपर्ने अडानमा दलहरु देखिन्छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ र देउवाले पनि एमाले बाहेकको सरकार बनाउन मुख्यमन्त्री कार्कीलाई सुझाव दिएका थिए ।

दलहरुबीच बनेको अहसमतिका कारण मुख्यमन्त्री कार्कीलाई अगाडि बढ्न अहसज बनेको छ । न उनी एमालेको साथ छाड्न सक्छन् न त गठबन्धनलाई मात्रै साथ लिन सक्छन् ।

उनी निकट एक नेता भन्छन्, ‘एमालेको साथ छाडौं त उसैको समर्थनमा मुख्यमन्त्री बनेका छन् अनि गठबन्धनलाई बाहिर राखौं त केन्द्रले शेखरले गठबन्धन गठबन्धनमै रहने भनि हस्ताक्षर गरेका छन् ।गठबन्धन भत्किएला भन्ने पीर । त्यसैले अहिले उनलाई मुख्यमन्त्री पद निल्नु न ओकल्नु जस्तै भएको छ ।’

निकट स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले सबैलाई मनाएर सरकार विस्तारको प्रयास गरिरहेका छन् । यद्यपी दलहरुका आ–आफ्ना अडानका कारण उनी कुनै निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्