काठमाडौं । भनिन्छ– नेपाल प्राकृतिक सुन्दरताको अनुपम नमुना हो । यहाँको विभिन्न प्रकारको भौगोलिक बनावट र सुन्दरताले विश्वलाई लोभ्याएको छ । आश्चर्यले भुतुक्कै हुने सुन्दर प्रकृति छ ।
चाँदीझै टल्कने हिमाल । लहरै लाम लागेर बसेका । त्यसैमाथि विभिन्न तालहरू । नदीनाला । विभिन्न प्रकारका चराचुरूङ्गी तथा पशुपंक्षी । यसले नेपालको सौन्दर्यता अझ बढाएको छ ।
प्रकृतिलाई कसैले सिँगार्नु पर्दैन । प्रकृति आफैँ सुन्दर छ । प्रकृतिको विराट शृङ्खला ! हेरिरहन मन लाग्ने । हर्दै आनन्दित पर्ने । मनमोहक दृश्य । कलात्मक सुन्दरता । बिहानको झुल्के घामले स्पर्श गरेको धरती र आकाश । जहाँ सौन्दर्यका भावनाहरू छताछुल्ल हुने ।
अहिले मानिसहरू हतास र निराशमा छन् । तर, प्रकृति भने प्रफुल्लित छ । उदात्त हाँसो हाँसिरहे जस्तो लाग्छ । प्रकृतिमा सुन्दरताको चाङ लागेको छ । अत्यन्त चित्ताकर्षक सुन्दरता छाएको छ । हरौं त्यस्ता २२ तस्बिर-
पुनहिल

पदायात्राका लागि सहज र आकर्षक गन्तव्य खोज्ने हो भने पोखरानजिकैको पुनहिल पदयात्रा निकै आकर्षक र रोमाञ्चक हुन्छ । अन्नपूर्ण पदमार्गकै एक खण्ड हो पुनहिल । पुनहिल पछिल्ला दिनमा विदेशीभन्दा बढी नेपालीहरूको आकर्षक गन्तव्य बन्न थालेको छ । घोरपानीदेखि आधा घण्टाको उकालो हिँडाइपश्चात् पुग्न सकिन्छ–पुनहिल । समुद्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्न सकिन्छ ।
प्याल्दोर हिमाल

प्याल्दोर हिमाल धादिङको रुवीभ्याली गाउँपालिका–३ मा रहेको छ । गणेश हिमाल ट्रेकिङ ट्रेलमा पर्ने यो हिमाल हेर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक रुवीभ्याली पुग्ने गरेका छन् ।
मनाङ ङिस्याङ

गर्मी बढेसँगै गत जेष्ठमा उच्च पाटनमा सारिएका चौरी गोठ अहिले जाडो बढेसँगै मनाङ ङिस्याङ गाउँपालिका–५मा अवस्थित मुङ्जेगाउँ झारिएको छ । मुङ्जेगाउँ झारिएका चौरी मुङ्जेगाउँ छेउछाउमा चरिरहेको छ । पृष्ठभूमिमा मुङ्जे गाउँ र अन्नपूर्ण दोस्रो हिमाल रहेको छ ।
माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । पर्यटकीय नगरी पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल ।
अन्नपूर्ण पदमार्ग

अन्नपूर्ण पदमार्ग नेपालीमाझ मात्र होइन विश्वभर चर्चित छ । लमजुङ सदरमुकाम बँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा पूरा हुन्छ ।अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको छ ।
धौलागिरी हिमाल

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसे बाट मङ्गलबार देखिएको धौलागिरी हिमालको दृष्य ।
पञ्चकुण्ड ताल


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरबाट पञ्चकुण्ड ताल र पृष्ठभूमिमा रहेको अन्नपूर्ण प्रथम हिमाल । पञ्चकुण्ड तालमा अन्नपूर्ण हिमालको छाँया अवलोकन गर्न सकिन्छ ।
टाक्राङ गाउँ

कुहिरोले ढाकिएको तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित टाक्राङ गाउँ ।
हुटिट्याउ चरा

घोराही उपमहानगरपालिका–४ डाँडागाउँस्थित कटकैया तलाउमा आहारा कुरेर बसेका हुटिट्याउ चरा ।
फुतफुते झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको मौरिस हर्गोज पदमार्गस्थित फुतफुते झरना । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा चहलपहल बढेको छ ।
गुर्जा हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित धारापानी गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । धारापानी धौलागिरि चक्रीय र गुरील्ला पदमार्गमा समेटिएको छ ।
माझीकुना

पोखरा महानगरपालिका–३१ बेगनास ताल किनारमा अवस्थित माझीकुना । घुमफिरसँगै माछाका परिकारका लागि माझीकुना प्रख्यात छ ।
मोफ्ला गाउँ

जुम्लाको हिमा गाउँपालिका–३ स्थित मोफ्ला गाउँ । उक्त गाउँमा परम्परागत शैलीमा बनेका घरहरु रहेका छन् ।
१५. बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरस्थित मोरङ्गाखोलामा नवनिर्मित पुल । उक्त पुल निर्माण भएपछि आवागमनमा सहज भएको छ ।
अन्नपूर्ण आधार शिविर

हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले । यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ । विश्वका १० उत्कृष्ट पदमार्ग मध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ ।
माछीताल गाउँ

राप्ती नदीको किनारामा २० घर धुरी कुमाल समुदायको बसोबास रहेको दाङको राप्ती गाउँपालिका–१ स्थित माछीताल गाउँ ।
मानुङकोट

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको हिमशृङ्खला
ठुलीपोखरी

पर्वतको मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खला छाँया । मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङ्खलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
सिस्ने हिमाल

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ जन्ती बस्ने लेकबाट देखिएको सिस्ने हिमाल ।
मानुङकोट


तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको हिमशृङ्खला । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । चिसो मौसम सुरु भएसँगै यहाँबाट सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि आन्तरिक पर्यटक बढेका छन् ।
चुस्दै पुतली

तुलसिपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा फुलेका फूलको रस चुस्दै पुतली ।
सबै तस्बिर: रासस














