काठमाडौं । त्रिभवुन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । बुधवार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने उनको भनाइ छ । शैक्षिक व्यक्तित्वलाई खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने उनले बताए ।

उपकुलपति बास्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरुको संघ, संगठनलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताए । ‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रष्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिष्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ’ उनले भने ।
उनले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने पनि बताए । उनले भने, ‘उच्च शिक्षामा राज्यले विनियोजन गर्दै आएको १० प्रतिशतको हाराहारीको बजेटलाई उल्लेख्य वृद्धि गरी सार्क मुलुकहरु सरह कम्तिमा २० देखि २५ प्रतिशतको हाराहारीमा पुर्याउनुपर्छ । साथै, अनुसन्धान तथा विकास बजेटमा पनि सोही अनुपातमा वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखि विश्वविद्यालयमा रुपान्तरण गरिनुपर्छ ।’
उपकुलपति बास्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम सदाको लागि अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।














