भरतपुर । चोरी, डाँका र लागु औषधजस्तो फौजदारी मुद्दाका कुख्यात व्यक्ति राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएपछि पुनः अपराधमा लागेको खुलेको छ।
चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापाले असल चालचलन भएको भन्दै गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद कट्टा गरेर जेलमुक्त भएका थिए । तर, जेलमुक्त भएपछि उनी फेरि अपराधमा लागेका छन् ।

अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ माग गरेको आरोपमा थापा पक्राउ परेका छन् । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिँदै रकम माग गर्दै गरेको अवस्थामा सोमबार उनी पक्राउ परेका हुन् । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।
पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ ।
थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।
मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो ।
अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए ।














