काठमाडौं, २३ माघ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको एकैपटक करिब ६ करोड रुपैयाँ बराबरको सम्पत्ति गुमेको छ । बालुवाटारस्थित सरकारी जग्गा खरिद गरेको पुष्टि भएपछि उनले ६ करोड गुमेको हो । बालुवाटारको जग्गाको मूल्य प्रति आना करिब ८० लाख रुपैयाँ पर्दछ ।

ललिता निवास क्याम्पभित्र उनको छोरा नवीनको नाममा आठ आना जग्गा थियो । त्यो जग्गा जफत हुने भएको छ । जग्गा फिर्ताका लागि उनका छोरा नवीनले सहमति जनाएका छन् । त्यही आधारमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सो जग्गा व्यक्तिको नाममा लैजान लबिङ गरेपछि शोभाकान्त ढकालले विष्णु पौडेलले जग्गा पाएको आरोप लागेको थियो । तर, अख्तियारको छानबिनमा त्यो कुरा खुल्न सकेन ।
त्यस्तै सर्वाेच्च अदालतका न्यायधीश कुमार रेग्मीलाई समेत मुद्दा नचलाउने निर्णय भएको छ । उनले पनि जग्गा फिर्ता दिने निवेदन दिएका थिए । यही विषयले गर्दा अख्तियारको मुद्दा दायरको आलोचना भएको छ ।
अनुसन्धान अधिकृतहरुले पौडेल र रेग्मीलाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, आयोगको बैठकले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । कांग्रेस नेता विजयकुमार गच्छेदारविरुद्ध भने मुद्दा चलेको छ ।











