काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्ने सर्वोच्चको आदेशपछि उनलाई पुनः जेल फर्काइने भएको छ । रिगलले हत्या गरेका नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले राष्ट्रपतिको निर्णय बदर गर्दै तत्काल पक्राउन गर्न आदेश दिएको हो ।
उक्त आदेशसँगै अब उनलाई पुनः जेल फर्काइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुबेर कडायतले बताए । रिगललाई असोज ३ गते संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले आममाफी दिएका थिए । सो निर्णयको विरुद्धमा भारती सर्वोच्च अदालत पुगेकी थिइन् ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि बिहीबार निर्णय सुनाइएको हो ।
२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रिगलसहित टोलीले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो ।
२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भएपनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।














